७ असोज, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य उमा भुजेल ‘शिलु’ र केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’लाई बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहसमा उपस्थितिका लागि सर्वोच्च अदालत ल्याइपुर्याइएको छ ।
आजादलाई काभ्रे सदरमुकाम धुलिखेल र भुजेललाई सिंहदरबार प्रहरी वृत्तको हिरासतबाट केहीबेर अघि मात्र ल्याइएको हो । भुजेलको हकमा भाई पदमबहादुर भुजेल र केसीको हकमा श्रीमती सीमा केसीले नेताद्वयलाई बिनाकारण गैरकानूनी रुपमा थुनामा राखेको भन्दै तत्काल रिहाईको माग राखेर रिट निवेदन दर्ता गरेका थिए ।
रिटमाथिको बहसपछि गत हप्ता सर्वोच्चले बाटोको म्याहेक २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सरकार, गृहमन्त्रालयलगायत विपक्षीको नाममा आदेश दिएको थियो ।
भुजेल र केसीलाई तेस्रोपटक गिरफ्तार गरी विभिन्न जिल्ला प्रहरीको हिरासतमा राख्दै आएको छ । दुवैजनाको रिटमाथि बहस आज प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको पूर्ण इजलास नम्बर १ मा हुँदैछ ।