काठमाडौं, असोज २ ।
एसिया कप क्रिकेटमा पाँच पटकको च्याम्पियन श्रीलंकाले दोस्रो हार ब्यहोरेको छ । गएराति भएको खेलमा कान्छो टेस्ट राष्ट्र अफगानिस्तानसँग ९१ रनले पराजित भएसँगै श्रीलंका एसिया कपको सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ ।
पहिलो खेलमा बंगलादेशसँग १३७ रनले पराजित भएको थियो । गएरातिको खेलमा टस जिति पहिला ब्याटिङ गरेको अफगानिस्तानले २४९ रन बनाएको थियो । २५० रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.२ ओभरमा अल आउट हुँदै १५८ रनमा समेटिएको थियो ।
श्रीलंकाका थिसेरा परेराले आफ्नो वान डे करियरमा चौथो पटक पाँच या यो भन्दा अधिक विकेट लिन सफल भए पनि अफगानिस्तानका माथिल्लो क्रममका ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शनले सम्मानजनक स्कोर खडा गरेको थियो ।
अफगानिस्तानका लागि रहमत साहले ७२, इसानुल्लाह जनातले ४५, हशमतुल्लाह शाहिदीले ३७ तथा मोहम्मद शहजादे ३४ रनको पारी खेलेका थिए ।३ विकेट गुमाएर १९० रन बनाएको अफागनिस्तानले बाँकी ५९ रन जोड्दा बचेका ७ विकेट पनि गुमाएको थियो ।
श्रीलंकाका थिसेर परेराले ५५ रन दिएर ५ विकेट लिएपछि खेलमा फर्किएको थियो । यस्तै अकिला धनञ्जयले २ विकेट लिए ।
श्रीलंकाका उपुल थरंगाले ३६ तथा थिसेर परेराले २८ रन बनाएका थिए । अफगानिस्तानका रासिद खान, मुजीबउर रहेमान, मोहम्मद नावी र गुलाबदिन नहिबले समान २–२ विकेट लिए ।