३१ भदौ, पोखरा ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी (अनेरास्ववियू)ले गण्डक प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले नारीमाथि निकृष्ट अभिव्यक्ति दिएको भन्दै कारवाहीको चेतावनी दिएको छ ।
आइतबार अखिल क्रान्तिकारीको छात्रा विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश मुख्य मन्त्री सुब्बाले नारीलाई वस्तुको रुपमा मात्र हरेर दिइएको अभिव्यक्ति आपत्ति र खेदजनक रहेको जनाउँदै अभिव्यक्तिप्रति सार्वजनिक रुपमा माफी मागेर गल्ती स्वीकार गर्न माग गरिएको छ ।
विभाग ईन्चार्ज आस्था नेपालीद्वारा जारी विज्ञप्तिमा ‘नारीमाथि भइरहेको हिंसा, बेचबिखन र बलात्कारका घटना रोक्नुको साटो बस्तुको रुपमा त्यसलाई वैधानिकता दिनु खोज्नु र कर असुलेर सत्ता चलाउने दुस्प्रयास नगर्न तथा त्यस्ता अभिव्यक्ति नदोहोर्याउन जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘दोहोरिएमा संगठन र विभाग जस्तोसुकै संघर्षमा उत्रन बाध्य हुनेछ ।’
यसै हप्ता मुख्यमन्त्री सुब्बाले पोखरामा ‘महिला यौनकर्मीका लागि छुट्टै रेडलाइट एरिया तोक्नुपर्ने र कर लगाउनु पर्ने’ अभिव्यक्ति सार्वजनिक कार्यक्रममा दिएका थिए ।
