३१ भदौ, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई सरकारले झुठा मुद्दा लगाएको भन्दै विरोधमा आइतबार जिल्ला बन्दको आह्वान गरेको छ ।
बन्दको प्रभाव जिल्लाभर परेको नेकपा उदयपुरले जनाएको छ । बन्दका कारण जिल्लामा लामा, छोटा रुटका सार्वजनिक यातायात चलेका छैनन् भने कलकारखाना, उद्योग, शिक्षण संस्था, बजार बन्द रहेको जनाइएको छ ।
सदरमुकाम बजार भने आंशिक रुपमा खुलेको प्रत्यक्षदर्शीले बताएका छन् । नेकपा नेता एवं प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई उदयपुर जिल्ला प्रहरीले बम विष्फोटको झुठा आरोपमा गिरफ्तार गरी ल्याइएको भन्दै विरोधमा नेकपा उदयपुरले जिल्ला बन्दको आह्वान गरिएको हो ।
शनिबार नेकपा उदयपुरका ईन्चार्ज बाबुराम र सेक्रेटरी प्रशान्तले एक प्रेस विज्ञप्ति जारी जारी जिल्ला बन्दको आह्वान गरेका थिए । मजदुर, विद्यार्थी, शिक्षक, कर्मचारीलगायत सम्पूर्ण जनसमुदायलाई बन्द सफल बनाएर फासीवादी सरकारको विरोधमा सहभागी हुन अपिल गरिएको थियो ।
नेकपाका नेताहरुमाथि झुठा मुद्दा लगाउने र दमन गर्ने हर्कत सरकारले नरोके जिल्लाहरुमा आम हड्ताल गर्दै लैजाने चेतावनी नेकपाले दिएको छ ।