२८ भदौ, दाङ ।
नेपाला कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाईका लागि काठमाडौं लगिएको छ ।
गैरकानूनी तरिकाले गिरफ्तार गरी प्रहरी हिरासतमा थुनामा राखेको भन्दै रिहा गर्न मागसहित भाई विरेन्द्र विश्वकर्माले दर्ता गरेको रिट निवेदनमाथि बहस गर्न बन्दी प्रकाण्डलाई बाटोको म्याद बाहेक ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च आदलतले यही २५ गते आदेश दिएको थियो ।
सोही अनुसार दाङको घोराहीस्थित जिप्रका हिरासतमा राखिएका नेता प्रकाण्डलाई बिहीबार बिहान आन्तरिक उडानबाट काठमाडौं घोराही प्रहरीले जनाएको छ । काठमाडौं हिजो बुधबारै उडाउने भनिएपनि प्रक्रिया मिलाउन समय लागेकोले बुधबार उडाउन नसकिएको समेत उसले जनायो ।
गत साउन २२ गते साँझ साढे ७ बजे काठमाडौंको फर्पिङ–बल्खु सडकखण्ड अन्तर्गत टौदहनजिक चाल्नाखेलबाट गिरफ्तार गरेयता बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथिको बहस यो चौथो पटक हो । उनलाई काठमाडौं, काभ्रे, नुवाकोट र भोजपुरमा लगाइएको अभियोग किनारा लागेपछि भदौ २० गते अर्को अभियोगमा दाङ लगिएको थियो । राज्यले नियन्त्रणमा लिएका नेकपाका नेतामध्ये प्रकाण्ड उच्च तहका नेता हुन् । उनी पार्टीमा प्रवक्ताका साथै स्थायी समिति सदस्य छन् ।
राज्यले नियन्त्रण लिएका केन्द्रीय नेताहरुमा पोलिटब्यूरो सदस्य (पीबीएम) उमा भुजेल ‘शिलु’, मोहनबहादुर कार्की ‘जीवन्त’, कृष्णप्रसाद धमला ‘गम्भीर’, पदमबहादुर राई ‘विकास’ र ओमप्रकाश पुन देशका विभिन्न जिल्लामा प्रहरी हिरासतमा छन् ।
त्यस्तै केन्द्रीय सदस्यहरु देवनारायण शाह, देवान राई ‘दिप्सन’, टेकबहादुर के.सी. ‘आजाद’, चन्द्रबहादुर खडका ‘असल’ लगायत पाँच जनालाई विगत तीन महिनादेखि विभिन्न जिल्लामा अनुसन्धान गर्न भन्दै राखिएको छ ।
तस्बीर: फाइल फोटो