काठमाडौं, भदौ २४ ।
प्राज्ञिक विद्यार्थी परिषद नेपालको त्रिभुवन विश्वविद्यालय इकाईले शनिबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
नजिकीदै गरेको हिन्दू नेपालीहरुको महान चाड हरितालिका तिजको शुभकामना आदन प्रदानका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले पछिल्लो समय तीजको दर खाने प्रवृत्तिमा बढदै गइरहेको विकृति विसङगतिलाई रोक्नु पर्ने बताउनु भयो ।
साथै सोहि कार्यक्रममा तीजको शुभकामना दिदै परिषद्को राष्ट्रिय छात्रा प्रमुख भगवती श्रेष्ठले तीज विशेष कार्यक्रम जस्तै छात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागि अन्य विविध कार्यक्रमहरु गर्नुपर्ने आवश्यक रहेको औल्याउनु भयो ।
कार्यक्रममा विद्यार्थी परिषदका प्रदेश नं ५ का अध्यक्ष दिपक ढकाल, राष्ट्रिय सचिव छितराज न्यौपाने, राष्ट्रिय सह छात्रा प्रमुख विन्दा विक लगायत काठमाडौं भक्तपुर र ललितपुरका विभिन्न नगर इकाई कमिटिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
यसैबीच प्राज्ञिक विद्यार्थी परिषदले शनिबार नै मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । विद्यार्थी परिषदको सुर्खेतको विरेन्द्र नगर इकाई र दाङको घोराही नगर इकाईले तिज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
यस्तै सर्लाहीको लालवन्दी इकाई ,नवलपुरको कावासोती इकाई र पर्वतको कुश्मा इकाईमा एक दिवसीय अभ्यास वर्ग सम्पन्न भएको छ भने काभ्रेको धुलिखेलमा दुई दिने भाषण कला एवं तर्कशाला कार्यक्रम भएको छ ।
तनहुँको दमौली इकाईमा शिक्षक संवाद कार्यक्रम ,दाङको घोराहीमा वृक्षारोपण कार्यक्रम ,जुम्लाको चन्द्रनाथ इकाईमा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएका छन ।
उक्त कार्यक्रमहरु विद्यार्थी परिषदका राष्ट्रिय अध्यक्ष डा.रामजी गौतम, राष्ट्रिय महासचिव श्री सुरेन्द्र प्रसाद भट्ट, राष्ट्रिय सह संगठन सचिव श्री रमेश कंडेल, राष्ट्रिय सचिव बिष्णु पंगेनीज्यू, प्रकाश शर्मा लगायत केन्द्रीय सदस्यहरुको पनि सहभागीतामा सम्पन्न भएको हो ।