काठमाडौं, २३ भदौ ।
गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर नुवाकोटको म्यागाङ गाउँपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोंचमा दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ ।
६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको हेलिकप्टरमा सवार ६ जनाको मृत्यु भएको छ भने १ जना महिलालाई जिवितै फेला पारिएको छ ।
अहिले घटनास्थलमा प्रहरी, सेना र उद्दारकर्मीको टोली पुगेको छ । भने सिम्रिक एयरको हेलिकप्टरले डोरीबाट उद्धार गर्ने शेर्पा गाइडहरुको टोली लिएर गएको छ ।
अल्टिच्युड एयर स्रोतका अनुसारआनी डोल्पा नाम गरेकी महिलालाई जिवित नै भेटिएको हो । अन्यको ६ जनाको शव फेला पारिएको नुवाकोटका प्रहरी प्रमुख एसपी बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।छ ।
उद्धारका लागि गएका ४ वटा हेलिकप्टर रोकिएको स्थानबाट घटनास्थल पुग्न दुई घण्टा लाग्ने अनुमान गरिएको छ । अल्टिच्युड एयरका संचालक सिताराम सापकोटाले दिएको जानकारी अनुसार १२ बजेतिर उद्धारका लागि गएको हेलिकप्टरले घटनास्थल देखेको थियो ।
जगंलमा रुखका हाँगा भाँचिएका र हेलिकप्टर छड्के अवस्थामा देखिएको सापकोटाले बताउनुभयो । मौसम सफा नभएका कारण उद्धारकर्ता नजिक पुग्न सकेका छैनन् ।
शनिबार बिहान ८ बजेर ५ मिनेटपछि हेलिकप्टरको टावरसँगको सम्पर्क टुटेको थियो ।
क्याप्टेन निश्चल केसीले उडाएको उक्त हेलिकप्टरमा जापानी नागरिक हिरोमी कोमत्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोरखा चुमनुव्री गाउापालिका २ की ल्हो आनी डोल्पा डिकी, गोरखा सामागाउँ चुमनुव्री साम्दो १ का छोवाङ नुर्वु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ रहेका थिए ।
आज बिहान ४ चिनियाँ पर्यटक र एक नेपालीसहित ५ जनालाई बोकेर ७ बजेर ३५ मिनेटमा गोरखाको सामागाउँमा अवतरण गरेको हेलिकप्टरले फर्कनेक्रममा दुर्घटनामा परेको हो ।
यो हेलिकप्टर एयरबस कम्पनीको बिथ्रीई भर्सनको हो । अल्टिच्युडले २ वर्षअघि यसलाई कार्गोमार्फत ल्याएर यतै एसम्बल गराएको थियो ।