गोरखा, २३ भदौ । गृहमन्त्री रामबहादुर थापाले समयमा विकास निर्माणका काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउन सरकार लागिपरेको बताउनु भएको छ ।
२० आँै वासु स्मृति दिवसमा सहभागी हुन आज गोरखा पुग्नुभएका गृहमन्त्री थापाले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले छ महिनामा थुप्रै उल्लेख्य काम गरेको दाबी गर्दै गृहमन्त्री थापाले सरकारको कामलाई अझ गति र व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ठेकेदारलाई कारवाही गर्न सरकार पछि हटेको भन्ने कुरामा सत्यता नभएको भन्दै गृहमन्त्री थापाले उनीहरुको कामबाट सुरक्षा हिसाबले समस्या भए जोसुकैलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनु भयो ।
उहाँले जनताले विकास आर्थिक समृद्धि, सुशासन र स्थायित्वका लागि दिएको जनादेशलाई सरकारले इमान्दारीपूर्वक निर्वाह गर्र्दै आइरहेको पनि बताउनुभयो ।
यस्तै उहाँले यातायातका क्षेत्रमा रहेको एकाधिकारको अन्त्य, भ्रष्टाचार न्यूनीकरणमा विशेष पहल, तस्कर नियन्त्रणलगायतका क्षेत्रमा सरकारले विशेष काम गरेको भन्दै अझै धेरै गर्न बाँकी रहेको बताउनुभयो ।
गृहमन्त्रीले आजै जिल्लास्थित सुरक्षा समितिको बैठकमा जिल्लाभित्रको शान्ति सुरक्षालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
गृहमन्त्री थापाले आजै निर्माणाधीन गोरखाको ऐतिहासिक तथा धार्मिकस्थल गोरखाकाली मन्दिरको अवलोकन गर्नुका साथै भूकम्पपछि निर्माण सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको उद्घाटनसमेत गर्नुभयो ।
भूकम्पको केन्द्रबिन्दु बारपाकको अुनगमनका लागि जाने गृहमन्त्री थापाको कार्यक्रम रहेपनि मौसम खराबीका कारण त्यहाँ हेलिकप्टर ओर्लन नसकेपछि सिधै सदरमुकाम आउनुभएको थियो ।