पोखरा, २३ भदौ ।
पोखराको बेगनास तालमा आज मध्याह्न डुंगा डुब्दा पाँच जना बेपत्ता भएका छन् । नौ जना सवार डुंगामा दुई महिला र तीन बालबालिका बेपत्ता भएका हुन् ।
अन्य दुई महिला र दुई पुरुषको उद्धार भएको कास्कीका प्रहरी नायव उपरीक्षक रवीन्द्र गुरुङले जानकारी दिनुभयो ।
उनीहरुको शिशुवाको लेखनाथ लायन्स सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । दुईको अवस्था गम्भीर रहेको गुरुङले बताउनु भयो ।
तीजको दर खाने कार्यक्रममा सहभागी हुन जाँदै गरेका चेलिबेटी बोकेको डुंगा दुर्घटना भएको हो । पोखरा–३० बेगनासका कमलराज कँडेलले आज आफ्नो घरमा दर खुवाउन घर ल्याउने क्रममा उनका चेलिबेटी र भाञ्जाभाञ्जी बोकेको डुंगा तालको मध्य भागमा डुंगा पल्टिएको थियो ।
डुंगा दुर्घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ । गैंडाकोटबाट आएका एकै परिवारका श्रीमान, श्रीमती र दुई छोराछोरी डुंगा दुर्घटनामा परेका हुन् ।
बाँकी वेपत्ताको खोजी कार्य जारी रहेको डाँडाको नाक प्रहरी चौकीका प्रहरी निरीक्षक किरण राउतले जानकारी दिनुभयो ।