काठमाडौं, २३ भदौ । संसदीय सुनुवाइ विशेष समितिले सुचना निकालेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नवीनकुमार घिमिरेमाथि कुनै उजुरी भए दिन आह्वान गरेको छ ।
आज सार्वजनिक सूचना निकालेर समितिले असोज १ गतेभित्रमा उजुरी दिन आह्वान गरेको हो ।
घिमिरेको विरुद्धमा उजुरी गर्नेले आफ्नो नाम, ठेगान पूरा खुलाउन पर्ने छ । घिमिरेलाई गएको बुधबार बसेको संवैधानिक परिषदले अख्तियार प्रमुखमा सिफारिस गरेको हो ।
प्रमुख आयुक्तमा सिफारिस भएका घिमिरेको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । घिमिरे २०७१ सालमा अख्तियारको आयुक्तमा नियुक्त हुनुभएको थियो ।
तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातको कार्यकाल सकिएपछि दोस्रो वरीयतामा रहेका घिमिरेले चार महिनादेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
को हुन् घिमिरे ?
अख्तियारकाे प्रमुख आयुक्तमा सिफारिस गरिएका नवीनकुमार घिमिरे २०१२ साल भाद्र २८ गते काठमाडौंको सिफलमा जन्मनुभएकाे हाे ।
२०५५ सालमा त्रिभुवन विश्वविद्यालयबाट सामान्य प्रशासन विषयमा स्नातकोत्तर गर्नुभएका घिमिरेको प्रमुख कार्यक्षेत्र सामान्य प्रशासन, विकास प्रशासन तथा सुरक्षा व्यवस्था हो ।
घिमिरेसँग सामान्य प्रशासन, विकास प्रशासन, सुरक्षा व्यवस्था, संरक्षण प्रशासन तथा लैंगिक क्षेत्रमा ३५ वर्षभन्दा बढी समय काम गरेको अनुभव छ ।
उहाँमा सिर्जनात्मक लेखनको अवधारण विकास गर्ने, शाब्दिक सञ्चार गर्ने क्षमताका साथै रणनितिक ज्ञान व्यवस्थापन तथा सञ्चार रणनीतिको विकास गर्ने तथा अगुवाइ गर्ने क्षमता छ ।
नवीन घिमिरेले करिब ३ दशक सचिव, सह सचिव, महानिर्देशक, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी आदिका रुपमा प्रशासनिक उत्तरदायित्व वहन गर्नुभएकाे छ।
घिमिरेसँग जिल्ला प्रशासनको निर्देशन तथा व्यवस्थापन गरेको, सुरक्षा निकायहरु परिचालन गरेको, विकासका कार्यहरुको सुपरिवेक्षण गरेको, सेवा प्रवाहको सुनिश्चितता गरेको तथा प्रशासनिक सुधारका क्षेत्रमा काम गरेको लामो अनुभव छ ।
घिमिरेले सन् १९७८ देखि विभिन्न पदमा रही राष्ट्रसेवा गर्नुभएकाे छ :
२०१२ –१३ गृह मन्त्रालय, सचिव
२००९ –१२ रक्षा मन्त्रालय, सचिव
२००८ –०९ गृह मन्त्रालयका, सह–सचिव
२००६ –०८ अध्यागमन विभाग, महानिर्देशक
२००५ –०६ प्रमुख जिल्ला अधिकारी, वीरगञ्ज
२००२ –०५ महिला विकास विभाग, महानिर्देशक
२००१ –०२ भूमिसुधार विभाग, काठमाडौैैैं, विभाग प्रमुख
२००० –०१ भूमि सूचना तथा अभिलेख विभाग, निमित्त महानिर्देशक
१९९८ –२००० भूमिसुधार तथा व्यवस्थापन मन्त्रालय, उप सचिव
१९९७ –१९९८ निमित्त प्रमुख जिल्ला अधिकारी, काठमाडौं
१९९६ –१९९७ प्रशासन सुधार अनुगमन समिति, काठमाडौं, उप सचिव
१९९५ –१९९६ गृह मन्त्रालय, उप सचिव
१९९१ –१९९५ सिंचाइ विभाग, काठमाडौं, उप निर्देशक
१९८९ –१९९१ जिल्ला प्रशासन अधिकारी, उदयपुर र पाल्पा
१९८४ –१९८९ स्थानीय विकास अधिकारी , इलाम, मोरङ र उदयपुर
१९७८ –१९८४ लोक सेवा आयोग, काठमाडौं र पोखरा, शाखा अधिकृत