सुर्खेत, २२ भदौ ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हरेक नागरिकले प्राप्त गरेको शिक्षा व्यवहारमा अनुवाद हुनुपर्ने बताउनुभएको छ ।
शिक्षामा रुपान्तरण संस्था काठमाडौँको सहयोग तथा नेपाल राष्ट्रिय मावि सुर्खेतद्वारा वीरेन्द्रनगरमा बिहीबार आयोजित ‘क्रियाकलापमा आधारित शिक्षण सिकाइ’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कानूनमन्त्री भण्डारीले यो कुरामा जोड दिनुभएको हो ।
उहाँले बदलिँदो समाजमा व्यावहारिक शिक्षा कार्यान्वयन गर्नु अपरिहार्य रहेको बताउनुभयो । “कर्णाली प्रदेश सरकारले सुसंस्कृत, समृद्ध र समुन्नत प्रदेश बनाउने उद्देश्यसाथ चालु आर्थिक वर्षमा २४ वटा डिजिटल विद्यालय निर्माण गर्ने अभियान थालेको उहाँले बताउनु भयो ।
प्रविधिमैत्री विद्यालय सञ्चालन र खस्किँदो शिक्षा प्रणालीमा व्यापक सुधार ल्याउन प्रदेश सरकारले शिक्षा रुपान्तरणका अभियानकर्मीलाई सहयात्री बनाउने कानूनमन्त्री भण्डारीको भनाइ थियो ।
शिक्षा समन्वय एकाई सुर्खेतका प्रमुख जीतबहादुर शाहले परम्परागत घोकन्ते शिक्षण सिकाइ विस्थापित गर्ने जनाउँदै सामुदायिक विद्यालयका शिक्षकहरुले लापरवाही या जागीरमध्ये एउटा छोड्नै पर्ने बताउनु भयो ।
सहयोगी संस्थाका कार्यकारी निर्देशक अर्जुन भट्टले बालबालिकालाई बोलेर पढाउँदा सात र नबोलेर पढाउँदा ९३ प्रतिशत बुझ्नसक्ने जिकिर गर्नुभयो ।