१९ भदौ, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई काठमाडौं ल्याइपुर्इयाएको छ ।
सरकारले झुठा अभियोगमा नुवाकोट जिल्लाको सदरमुकाम विदुरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा १२ दिनदेखि राख्दै आइरहेकोमा सोमबार सर्वोच्च अदालतको आदेशमा रिहा भएलगत्तै एक प्रहरी टोलीले गिरफ्तार गरी राति नै काठमाडौं ल्याइपुर्याएको हो ।
आदेशको औपचारिक जानकारी प्राप्त भएसँगै सोमबार साँझ ७ बजे जिल्ला वकिलको रोहावरमा रिहा गरिएका प्रकाण्डलाई अर्को प्रहरी टोलीले भोजपुर जिप्रका अर्को अभियोग परेको भन्दै गिरफ्तार गरिएको थियो ।
राति नै टोलीले महानगरीय प्रहरी परिसर काठमाडौंको गौशाला वृत्तमा ल्याई राखिएको थियो । उनलाई मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलको आन्तरिका उडानबाट बुद्ध एयरको ७०५ नम्बरको ९ः५० बजेको नियमित फ्लाइट (उडान)बाट मोरङको विराटनगरमा लगिएको थाहा भएको छ ।
विराटनगरबाट आजै भोजपुर लगिने बताइएको छ । भोजपुरमा प्रदेश चुनावी र्यालीमा भएको बम विस्फोट अभियोगमा ‘पक्राउ पूर्जी’ जारी भएको कारण देखाउँदै भोजपुर पुर्याउने काम भइरहेको प्रहरीले स्रोतले बतायो ।
प्रकाण्डलाई साउन २२ गते गिरफ्तार गरेयता यो चौथोपटक गिरफ्तार गरिएको हो । शुरुमा काठमाडौं प्रहरीले ‘जर्बस्त चन्दा संकलन’ गरेको अभियोग लगाएको थियो भने दोस्रोपटक काभ्रे प्रहरीले ‘आगजनी गरी संगठित अपराध’ गरेको र तेस्रोपटक नुवाकोट प्रहरीले ‘आगजनी’ गरेको अभियोग लगाएको थियो । तर तीनै वटा अभियोग पुष्टि हुन नसकेको भन्दै सर्वोच्चले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै भदौ १, ७ र १८ गते तीनै पटक अभियोग खारेज गर्दै तत्काल रिहा गर्न आदेश दिएको थियो । तर सोमबारको तेस्रो पटकको रिटमाथिको बहसपछि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले नुवाकोटका जिल्ला न्यायाधीशको रोहवरमा तुरुन्त रिहा गर्न आदेश दिएको थियो ।
आदेशबमोजिम सोमबार साँझ रिहा गरिएलगत्तै नेकपाका स्थायी समिति समिति सदस्य समेत रगेका प्रवक्ता प्रकाण्डलाई पुनः गिरफ्तार गरियो । गिरफ्तारीको क्रममा नेता प्रकाण्डले सरकार फासीवादी र जनविरोधी भएकोले आफूमाथि पटकपटक झुठा अभियोग लगाएर थुनामा राखेर जनतालाई पूर्ण अधिकार बनाउने र राष्ट्रिय स्वाधीनताको रक्षाको आन्दोलनलाई भुत्ते तुल्याउने हर्कत केपी–प्रचण्ड सरकारले जारी राखेको बताए ।
‘जतिसुकै दमन र गिरफ्तारको श्रृंखला चलाएपछि जनताले क्रान्ति र परिवर्तनको बाटो नछाड्ने र त्यसको नेतृत्व नेकपाले गरिरहेको बताउँदै आफू जस्तोसुकै परिस्थिति आइपरे पनि देश र जनतालाई अधिकार सम्पन्न बनाउने राजनीतिक अभियानबाट विचलित नहुने प्रतिवद्धता दोहोर्याए ।