के तिज प्रगतिशील चाड हो ?

के तिज प्रगतिशील चाड हो ?

  • आइतवार, भदौ १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.1K
    SHARES

-बलराम तिमल्सिना

फेरि तिज आउँदै छ । तिज आउँनु नराम्रो कुरा होइन ।तर तिजको नाममा जे चिज आउँदै छ त्यो भने हानिकारक छ । महिलाहरूलाई भन्दा पहिले तिज सुन व्यापारीलाई आएको छ । चुरा पोते र सारी व्यापारीलाई आएको छ । होटेल रेस्टुरेन्ट र रक्सी व्यापारीलाई आएको छ | तिज जस्ले मान्दै आए तिनीहरूलाई कम र अरुलाई बढी आएको छ । जजसलाई तिज आएको छैन या जुन जाति या समुदाय तिज मान्ने परम्पराका होइनन तिनलाई पनि तिज मान्ने पर्ने अनिवार्य जस्तो बनाएर महिनौंदेखि प्रचार गरेर एउटा मनोविज्ञान तयार गरिदै छ | यसरी प्रचार गर्नेमा सग्लै राज्य ,यसका निकायहरू , सामाजिक तथा गैर सरकारी संस्थाहरू, स्कूल, कलेज, क्लव, सेना, प्रहरी, कर्मचारी लगायत साराका सारा छन् / यसै सन्दर्भमा तिज वारे केही कुरा गर्ने अनुमति चाहन्छु |

तिजले सवैभन्दा पहिले पुरुष सर्वसत्तावादलाई स्थापित गर्छ । सिवजस्तै लोग्ने पाऊँ भनेर या भएको लोग्ने सिवजस्तै होस भनेर या आफ्नो लोग्नेको आयु धेरै होस् भनेर भोकै बसेर व्रत बस्ने कुराले पुरुषलाई महिलाको मालिक मान्छ भने महिलालाई पुरुषकी दासी मान्छ । आफ्नो मालिकलाई रिझाउँन भोकै प्यासै बसेर भक्तिगान गर्ने सामन्तवादी युगको परम्परालाई आजको पूँजीवादले सर्लक्कै टिपेर आफ्नो हितमा प्रयोग गरेको छ। मेरो बिचारमा तिज पुरुषसत्ताको मुन्तिर महिलाहरूले गुनासा सुनाउने दुखी पर्व हो । पुरुषलाई सत्ताको अधिकारी मानेर त्यसै भित्र आफ्ना रोना धोना गर्ने चाड हो तिज | तिज भित्र हिजोको सामन्ती उत्पीडन र आजको पूँजीवादी दुश्चक्रका विरुध्द कुनै विद्रोह छैन | बरु यही व्यवस्थाले तोकिदिएको परिधिभित्र बसेर यो व्यबस्थाको अपमान नहुने गरी ल्यांग्ल्यांग गर्ने जात्राको काम तीजले गरेको छ |
अर्को कुरा आजका महिलाहरूको आदर्श लोग्ने सिव होइन | सिव त पुरुष सत्ताबाट महिलाको दिमागमा जवर्जस्ती थोपरिएको कुरा हो / कुनै युगमा सिव आफ्नो जमानाका वलसाली थिए होलान | पौराणिक कथनमा सिवको आचरणको वारेमा जस्तो कुरा गरिन्छ , त्यो हेर्दा उनी धनी बाउको बालियो बाङ्गो खराव आचरणको गुण्डाजस्तो देखिन्छन | यौन अराजकताको कुरा गर्दा सिव पशु करणीसम्म गर्न पछी नपर्ने देखिन्छन | खान पिनको कुरा गर्दा गाँजा भांग धतुरो खाएर जहिले पनि लठ्ठ परेर बस्ने उनको चरित्र आजका लागू औषधिका दुर्व्यसनीको जस्तो देखिन्छ / त्यस्तो दुर्व्यसनी पुरुष जस्तो लोग्ने पाउँ भनेर व्रत लिनु भनेको कुनै अर्थमा पनि उपयुक्त देखिदैन / आजको समाजका महिला आफुले चाहेजस्तो लोग्ने पाउन व्रत बस्दैनन् र रोइकराई पनि गर्दैनन् | महिलामाथिको पुरुषको युगौं पुरानो वर्चश्वलाई थप निरन्तरता दिन सहयोग गर्ने यस प्रकारका चाड वारे क्रान्तिकारी महिलाहरूले अलि फरक तारिकाले सोच्न जारुरी छ |
आजको दिनमा तिजले स्थापित गर्ने दोश्रो कुरा हो – नेपालको परम्परागत चाडमाथि बजारलाई एकछत्र ढलिमली गर्न दिने काम । हिजो तिजभित्र सामन्तवाद थियो | निख्लाम व्रत बसेर गाउँका चोक चौतारीमा जम्मा भएर सासू , आमाजू र नन्दका कुरा गरिन्थे | हिजो पनि पुरुषलाई कम र महिला द्वारा महिलाकै विरोध गर्न सिकाइन्थ्यो | पुरुष आलोचना भन्दा माथि परमपूज्य स्थानमा विराजमान थियो | आज आर्थिक-सामाजिक-सांस्कृतिक हेरफेरसँगै सामन्तवादको सट्टामा भूमण्डलीकृत पूँजीवाद हाम्रो देशमा सत्ता चलाउने स्थानमा आइपुगेको छ | सामन्तवादले आफ्ना चाड पर्वहरू पूँजीवादको हातमा बेचिदिएको छ र जताततै पूँजीवादको हालीमुहाली छ | आजको विक्रित पूँजीवादले बनाएको डिजाइन अनुसार तिज पनि सुन र सारीका आतृप्त उपभोक्ताहरू उत्पादन गर्ने पर्व बनेको छ । तीजकै छेक पारेर खरवौंको व्यापार गर्ने व्यापारीहरूको लिला अन्तरगत यी सव काम भैरहेको छ । अव तीजमा सासूबाट हेपिएका बुहारीहरू देखिदैनन बरू उपभोक्तावादमा चुर्लुम्म डुबेका बजारका महिला उपभोक्ताहरू देखा पर्छन | अव तीजमा सासूले हेपेका विरहहरू गाउने काम हुदैन बरु पूँजीवादको आक्रमणको अगाडि सर्लक्क सुतिदिने गीतहरू बज्छन | मेरो भनाइको अर्थ आजको तिजको निर्देशक पूँजीवाद हो र नायिकाहरू उच्च बर्गका महिलाहरू हुन | अव यो श्रमजीवी महिलाहरूको चाड होइन | तिजभित्र धेर थोर प्रगतिशीलता थियो भने पनि अव त्यो पूँजीवादको पोल्टामा पुगेर सकिएको छ /
• तिजको कारणले स्थापित हुने अर्को कुरा गैह्र हिन्दूहरू माथि हिन्दू मान्यता पनि हो । सिवजस्तै लोग्ने पाऊँ बनेर व्रत बसेको पौराणिक कथन हिन्दूहरूको हो । नेपालका जनजाति महिलाहरू हिन्दू महिलाजस्तो इच्छाएको लोग्ने पाउँन अनसन बस्नु पर्ने अवस्था हिजो पनि थिएन र आज पनि छैन ।एउटा धार्मिक सम्प्रदायको चाडलाई सवै नेपालीको चाड भनेर प्रचार गरिनु र संरक्षण गरिनु न्यायपूर्ण होइन । नेपालका राष्ट्रिय भनिएका अधिकांश चाडहरू हिन्दूका छन् | लामो समयदेखि शासन सत्तामा हिन्दूहरूको बोलवाला भएको मौका छोपेर ती चाड पर्वहरुलाई जवरजस्त ‘राष्ट्रिय’ मान्यता दिइएको छ र अन्य धर्मावलम्वीहरूले मनाउने चाडहरू ‘स्थानीय’ चाडको अपमान खप्न वाध्य छन् | तिज पनि त्यस्तै एउटा हिन्दूहरूको चाड हो | हिन्दूहरूको चाडलाई पूरै राज्य लागेर राष्ट्रिय बनाउने काम तीजमा पनि गरिन्छ |
तिजले फैलाउँने अर्को गलत कुरा भनेको अन्धविश्वास र धर्मान्धता हो ।तिज महिलाहरूको विशुध्द सांस्कृतिक चाड होइन / यो चाडको थालनीसँग जोडिएको महिला मुक्तिको आन्दोलनसँग जोडिएको कुनै गौरवमय इतिहास पनि छैन / यो चाडमा धर्म पुरै हावी भएको छ / धर्म भन्ने कुरा मातृ सत्ताको अवसान र पुरुष सत्ताको उदय भए पछी परिवार र सम्पत्ति माथि पुरुषको अधिपत्यलाई स्थापित गर्न चलाख पुरुषहरूको दिमागले कथेको जालझेल हो / आजको एक्काइसौँ सताव्दिमा महिलाहरूले सुखको दिन ल्याउन आर्थिक- सामाजिक-सांस्कृतिक व्यवस्था विरुध्द लड्न सिकाउँनुको सट्टा मध्ययुगीन महिला उत्पीडक धर्म र रुढीतिर फर्केर महिला मुक्ति हुने कुरै हुदैन । हिन्दू धर्म महिलाको मामलामा क्रुर र कठोर छ | हिन्दू धर्ममा माहिलालाई पुरुषका अकिन्चन दासी भन्दा माथि सोचिएको छैन | महिलाहरूको दुखको कारण – निजी सम्पत्ति, सम्पत्तिको सम्पत्तिको स्वामित्व पुरुषमा भएको निजी परिवार अर्थात पुरुषको परिवार र सम्पतिवालहरूको अर्थात पुरुषहरूको एकलौटी हुने राज्य सत्ता हुन / महिलाहरूले भत्काउनु पर्ने पहाड एकातिर छ | महिलाहरूको चेतनालाई माथि उठाउने र उनीहरूको स्थायी दुखका विरुध्द आमने साम्नेका समस्या विरुध्द लड्न सिकाउनुको सट्टा मध्ये युगीन धर्मको अन्धकारमा पूँजीवादको चरेस मिसाएर पियाउने काम तीजले गर्छ | महिलाहरूको मुक्तिको चाड आठ मार्चलाई भन्दा तीजलाई महत्व दिनुको प्रतिक्रियावादी कारण पनि यही छ |

तिज आएपछि सुरु हुन्छ लत्ता कपडा र सुनको प्रदर्शन । सवै भन्दा फुर्तिफार्तिमा हुन्छन –सुनचोर,तस्कर र भ्रष्ट हाकिमका श्रीमतीहरू ! उनीहरू दाम्लो जत्रो पोते र किलो जत्रो तिलहरी लगाएर ढलक ढलक ढल्केपछि क्रमश उच्च तथा मध्ययम बर्गका महिलाहरू पनि आइपुग्छन् यो गहना प्रदर्शनीमा सुन र सारीमा सजिएर ।ठूला व्यापारी ,भ्रष्ट नोकरशाहहरू, ठेकेदारहरू ,तस्करहरू र त्यस्तै भ्रस्ट नेताहरूका जोईहरूले कव्जा जमाएको यो चाड पूँजीवादी हाटबजार जस्तै बनेको छ | यो पर्व निम्न वर्गका महिलाहरूमाथि सुन प्रदर्शनको क्रुर हिंसा थोपरेर हुने खानेका श्रीमतीहरूले हुलदङ्गा मच्चाउने जात्रा बन्दै छ र आफ्नो परम्परा मान्ने भन्दा पनि बजारमा सम्पत्तिको होड गर्ने विकृत पर्वको रुपमा तिज भ्रष्टीकृत हुदै छ | तिज आएपछि निम्न वर्गका घरमा गरगहना र सारीको व्यवस्थापनले मनोमालिन्य सुरु हुन्छ /
तिज वारेमा सघन छलफल नहुनाको कारणले आफुलाई प्रागतिशील र अझ क्रान्तिकारी भन्ने महिलाहरू पानि तिजको सुनामीमा बग्न पुग्छन | संस्कार संस्कृति र धर्म वारे ऐतिहासिक भौतिकवादी विचार प्रस्तुत गर्ने कम्युनिष्ट आन्दोलन पूँजीवादको टाट्नामा घाँस खान पसेको आजको भयानक पर्यावरणमा घाँस खान अस्वीकार गर्नेहरूले अलि गम्भीर भएर सोच्नु पर्ने हो कि भन्ने मलाई लाग्छ |
पहिलो कुरा यसले पुरुष सत्तालाई स्थापित गर्ने काम गर्छ र दोश्रो यसले पूँजीवादी विकृतिलाई बढाउँने र त्यसैमा बग्ने काम गर्छ ।तेस्रो यसले वैज्ञानिक चेतना भर्ने होइन वरु रुढिवादी अन्धविश्वासतिर फर्काउने काम गर्छ | चौथो यसले गैर हिन्दु जातिभित्र संस्कृतिक अतिक्रमण गर्छ र जवरजस्त मान्न वाध्य वनाउछ /
यहाँ दिक्क लाग्दो कुरा के छ भने शासक जातिका सवै साना ठुला चाड पर्वहरूले ‘बडा’,’महान’ र ‘राष्ट्रिय’ दर्जा पाउछन / जस्तो बडा महाराजहरूले पनि मान्ने चाड भएकोले बडा दशैं भनियो तर यो देशमा वुध्द जयन्ति या ल्होसार कहिले बडा भएनन् / माघी कहिले महान भएन / उधौली उभौली पर्वहरू कहिले राष्ट्रिय भएनन् , किन ? किन कि ती चाडहरू सत्ताधारी जातिका थिएनन /
कुनै वेला थियो- तिजलाई महिलाहरूको बीचमा चेतना प्रवाह गर्ने संभावना थियो । विगतमा क्रान्तिकारी महिला आन्दोलनले पनि यसलाई उपयोग गरेको थियो । सुन्दरी प्रतियोगिताका विरुध्द लडेर प्रहरीको लाठी खानेहरू आफै सुन्दरी प्रतियोगितामा छोरीलाई पठाएर सार्वजनिक रुपमा भोट माग्ने ठाउँमा पुगेको आजको कहालीलाग्दो अवस्थामा तिजलाई उपयोग हैन तिजले सवैलाई सोहोरेर उल्टै दुरुपयोग गरिरहेको छ । त्यसैले तिजमा कम्मर मर्काउँन जान खुट्टा उचाल्नु अघि एक पटक अलि ठण्डा दिमागले सोच्ने हो कि ?
मैले एति कुरा उठाए पछि धर्म तथा परम्परा माथि आक्रमण गरेको भनेर कठमुल्लावादी धार्मिकहरू एक पटक चिच्याउने छन् | पूँजीवादी महिलाहरूले पनि एकपटक सराप्ने छन् भने पूँजीवादी बाटोमा हिड्न थालेका महिलाहरूले पनि मलाई माहिलाहरूको पवित्र चाडका विरुध्द विष वमन गरेको भनेर गाली गर्ने छन् | कतिले त कि विकल्प देऊ कि तिज मनाएको विरोध नगर पनि सायद भन्ने छन् |
आफुलाई प्रगतिशील भन्ने कैयन बहिनीहरूले र केही कलाकारले मलाई यो बिचमा तिज सम्बन्धि अलि पृथक गीत लेख्न भनेर पटक पटक अनुरोध गरे | उनीहरूको अनुरोध पछि के गर्ने होला भनेर मैले खुब सोचें र अन्तमा एउटा गीत तयार पारें तीजकै लयमा | यो गीत मैले ती साथीहरूलाई पनि पठाएँ | यो गीत पठाए पछी ती साथीहरूले कुनै प्रतिक्रिया दिएका छैनन् | प्रतिक्रिया नदिनुको कारण गीत साथीहरूले सोचे जस्तो भएन सायद |

गीतको सुरुको भाग यस्तो थियो-

तिज आयो भनेर रमाउँने हामी !
हामीभन्दा रमाउँने साहु हरामी !
उस्कै बिक्छ सिन्दूर पोते उस्कै बिक्छ गहना !
हामी छोरी चेलीको त हाँस्ने बहाना !
तिजको कहर आयो बरिलै -2
……….

भूमण्डलीकृत पूँजीवाद संसारका कुना कन्दरा जहीं तहीं पुगेको छ | मान्छेका चुला चौकादेखि मठ मन्दिर सवैतिर छिरेको छ | सवै धर्म, मूल्य, मान्याता र विशिष्टताहरूभित्र छिरेर त्यसलाई आफ्नो अनुकुल बनाउदै लागेको छ | प्रकृति र समाजका सारा मौलिकता तथा सुन्दरताहरूलाई निलेर आजको पूँजीवादले संसारलाई आफुजस्तै बनाउने काम गरिरहेको छ | यस्तो वेलामा निर्वंध चलिरहेको साम्राज्यवादी हावाका विरुध्द क्रान्तिकारी झण्डा उठाउनु यो समय पागलपन जस्तो बन्दै गएको छ | जतिसुकै कठिन भए पनि सत्यको पक्षमा आवाज उठाउनु क्रान्तिकारीहरूको दायित्व हुने हुनाले आजको यो कठिन परिस्थितिमा पनि हामीले सत्य कुरालाई उठाउन सक्यौं भने त्यसलाई अनुसरण गर्ने मानिस वाँकी हुन्छन भनेर सोच्नु नै वैज्ञानिक हुन्छ |
पहिले हराभरा विकल्प तयार भएपछि मात्र पुरानो कुरा छोड्ने भन्ने कुरा वैज्ञानिक छैन | जसरी लागु औषधिको दुर्व्यसनीलाई लागु औषधिको कुलतबाट छुटाउन अर्को लागू औषधिको विकल्प दिन सकिदैन / लागू औषधिको दुर्व्यसनीको विकल्प सवै भन्दा पहिले त्यो प्राणघातक चिज छोड्नु हुन्छ / पहिला यो भन्दा गजबको विकल्प देऊ अनि लागू औषधि छोड्छु भनेर कसैले भन्छ भने त्यो नछोड्ने वहाना मात्र हो / पुरानो कुरा काम नलाग्ने भएपछि त्यसलाई पहिले परित्याग गर्ने अनि त्यसपछि विकल्प खोज्ने हुन्छ | हामी सामन्ती समाजबाट पूँजीवादमा प्रवेश गरेका छौं तर सामन्तवादको पनि प्रारम्भिक चरणका मूल्यमान्यताहरू बोकेर हिडिरहेका छौं | हरेक नयाँ युगले नयाँ मान्यताहरूलाई जन्म दिदै र हुर्काउदै लानु पर्नेमा त्यसो हुन सकेको छैन |
अवको न्यायप्रेमी महिलाहरूको बाटो भनेको परम्परा बचाउने नाममा, जनताबाट नकट्ने नाममा या परिस्कारको नाममा अप्रासंगिक भैसकेको तीजलाई बचाउनेतिर भन्दा पनि यसको नारी विरोधी सामन्ती तथा निगमीकृत पूँजीवादी प्रतिक्रियावादी सारतत्वको भण्डाफोर गर्दै यसको सट्टामा अन्तराष्ट्रिय श्रमिक महिला दिवसलाई मान्न सुरु गर्नु सही हुन्छ |

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी