काठमाडौं, १६ भदौ । बिमस्टेक सम्मेलनमा सहभागी हुन काठमाडौं आउनु भएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले आज बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नु भएको छ ।
राष्ट्रपति सिरीसेना आज बिहान काठमाडौंबाट चार्टर विमानमा गौतमबुद्ध विमानस्थल भैहरवा पुग्नु भएको थियो ।
राष्ट्रपति सिरीसेनाको दम्पतीलाई लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ का प्रमुख उमाकान्त झा, प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री पर्यटन मन्त्री लिला गिरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षू मैत्य (अवदेश कुमार त्रिपाठी ) र प्रमुख जिल्लाअधिकारी उदय बहादुर रानामगरले स्वागत गरेका थिए ।
यसपछि उहाँले मायादेवी मन्दिरमा आफ्नो परम्परा अनुसार पूजाआजा गर्नु भएको थियो । मायादेवी मन्दिर बाहिर दीप प्रज्वलन गर्दै उहाँले शान्तिको कामना गर्नु भएको थियो । सोही ठाउँमा श्रीलंकन भिक्षुहरुले शान्ति पाठ समेत गरेका थिए ।
मायादेवी मन्दिर परिषरमा आयोजना गरिएको विशेष कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले गौतमबुद्धको जन्मस्थल र लुम्बिनीको महत्वका उहाँलाई जानकारी गराउनु भएको थियो ।
राष्ट्रपति सिरीसेना भोली स्वदेश फर्कनुहुने कार्यक्रम छ ।