बारा, १६ भदौ ।
बारा जिल्ला अदालतले विभिन्न मुद्दामा कैद सजाय तोकपछि फरार रहेका दुई जना अभियुक्त सहित बिभिन्न अपराधमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सवारी ज्यान मुद्दाका फरार अभियुक्त जितपुर सिमरा उपमहानगरपालिका ४ बस्ने विष्णु प्रसाद अधिकारी र लागु औषध मुद्दाका फरार अभियुक्त निजगढ नगरपालिका ११ बस्ने विकास तितुङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रंजित सिंह राठौरले बताउनुभयो ।
अदालतले १ महिना कैद सजाय तोकेपछि झन्डै २० वर्ष देखी कैद भुक्तान नगरी अधिकारी लुकीछिपी बस्दै आएका थिए । यस्तै लागु औषध मुद्दामा १ महिना ५ दिन कैद सजाय पाएका तितुङ्गलाई ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
यसैबीच १० लाख मुल्य बराबरको चोरीको मोबाईल सहित प्रहरीले बाराको बारागढी गाउँपालिका ३ खोपवाबाट एक युवकलाई पक्राउ गरेको छ ।
स्यामसुङ्ग, ओपो लगायत विभिन्न मोडलका ३७ वटा एन्ड्रोईड मोबाईल सहित स्थानीय राजु साह कलवारलाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै भारतबाट अवैध रुपले नेपाल भित्रियाईएको कुखुरा सहित २ जनालाई प्रहरीले सिम्रौनगढ १ बाट पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका ६ का २२ वर्षिय श्यामकिशोर महतो र शौखिलाल महतोलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय सिम्रौनगढले अनुमतिबिना बिक्री वितरणको लागि ल्याईएको ३० हजार रुपैयाँ मुल्य बराबरको औषधी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले चोरी तस्करी गरी नेपाल भित्रियाईएको दाबी गर्दै प्रहरीले सो औषधी नियन्त्रणमा लिएको हो ।