केपी-प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्ट पार्टी होइन– हस्तबहादुर केसी

केपी-प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्ट पार्टी होइन– हस्तबहादुर केसी

  • बुधबार, भदौ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 46.4K
    SHARES

नाम कम्युनिष्ट पार्टी राख्दैमा त्यो कम्युनिष्ट हुन्छ भन्न मिल्दैन । कम्युनिष्ट पार्टी हुनका लागि उसले अंगिकार गरेको मार्गादर्शन सिद्धान्त, रणनीति, क्रान्तिकारी कार्यदिशा तथा कार्यक्रम र क्रान्तिकारी व्यवहारले मात्र निर्धारण गर्दछ ।
आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जो डब्बल कम्युनिष्ट पार्टीको नाम राखेको छ र आफूलाई कम्युनिष्ट पार्टी भएको हल्ला मच्चयाइरहेको छ । कोष्ट बाहिर र कोष्ट भित्र पनि कम्युनिष्ट पार्टीको नाम राख्दैमा त्यो कम्युनिष्ट पार्टी भइहाल्ने होइन । अतः नेपाल कम्युनिष्ट पार्टी
(नेकपा) कम्युनिष्ट पार्टी नभएर के हो त ? अब हेरौं ।
विश्वसर्वहारा वर्गका महान् नेता लेनिनले एक ठाउँमा भन्नु भएको छ, – “संशोधनवादीहरु अन्ततः दक्षिणपन्थी बाटो हुदै प्रतिक्रियावादमा पुगेर पतन हुन पुग्छन् ।”
अतः विश्वसर्वहारावर्गका महान् नेता लेनिनले माथि भन्नु भएको कुरा आज आएर नेपालमा सही सावित हुन पुगेको छ । २०२८ साल जेठ २ गते विस्फोट भएको झापा विद्रोहबाट अगाडि बढेर नेकपा (माले), नेकपा (एमाले) हुदै दक्षिणपन्थी संशोधनवादमा पतन हुन पुगेको नेकपा (एमाले) र २०५२ साल फाल्गुण १ गतेबाट शुरु भै दश वर्षसम्म सञ्चालन भएर शान्ति प्रक्रियामा प्रदेश गर्दै नेकपाा (माओवादी), नेकपा (एमाओवादी), हुँदै नेकपा (माओवादी केन्द्र) बन्न पुगेको नेकपा (माके) नवसंशोधनावादमा पतन भएर नेकपा (एमाले) मा विलय हुन पुग्यो । एमाले र माकेका बीच एक अर्कोमा विलय भैसकेपछि यसले पहिले पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्यो । ऋषि कट्टेलको नाममा नेपाल कम्युनिष्ट पार्टी नाम गरेको पार्टी ऋषी कट्टेलको नाममा निर्वाचन आयोगमा पहिले नै दर्ता भइसकेकाले उसले शुरुमा अण्डरलाई नेपाल कम्युनिष्ट पार्टी राख्यो । त्यो नाम गरेको पार्टीलाई पनि निर्वाचन आयोगले दर्ता नगरि दिएपछि ब्राकेट नेपाल कम्युनिष्ट पार्टी अर्थात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम राखेर निर्वाचन आयोगले दल दर्ता गरिदिएको छ ।
नेकपा (माओवादी) नाम राख्दै आएको नेकपा (माके) र नेकपा (एमाले) नाम राख्दै आएको एमाले नामका पार्टीहरु नेपाली जनताका बीचमा नराम्ररी बदनाम भइसकेकाले दुवै पार्टीहरुको नाम बदलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्ने नाटक गरेका छन् । किनभने कोष्ट बाहिर कोष्टभित्र एउटै नाम राखेर पार्टीको नाम जुराउने गाइजात्रा समेत गरिएको छ । त्यति मात्रै कहाँ हो र ब्राकेट नेकपाले दुइदुइवटा पार्टी अध्यक्ष समेत राखेर राप्रपाहरुलाई समेत उछिनेको छ । किनकि राप्रपाहरुले अध्यक्ष र सह अध्यक्षसम्म राख्दै आएका छन् । यसले त दुइदुईवटा अध्यक्ष राखेको छ । यस प्रकारको नेता प्रधान पार्टी कम्युनिष्ट पार्टी हुन सक्तैन ।
कुनै पनि राजनीतिक पार्टीलाई उसले अंगिकार गरेको दर्शन, सिद्धान्त, राजनीति, कार्यदिशा, कार्यक्रम र कार्योजनाका आधारमा मात्र उसको मूल्याङक गरिन्छ । हामी माक्र्सवादीहरुले विनापूर्वाहग्रह जस्ताको तस्तै यस पार्टीको मुल्याङक गर्नु पर्ने हुन्छ ।
माक्र्सवादी विश्लेषणका आधारमा, मालेवादी विश्व दृष्टिकोणाको आधारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई कम्युनिष्ट पार्टी भन्न मिल्दैन । किनभने कम्युनिष्ट पार्टी हुनका लागि उसले माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो पथप्रदर्शन गर्ने मार्गदर्शन सिद्धान्तको रुपमा अंगिकार गरेको हुनुपर्दछ । जस्तो कि आज माक्र्सवादले पहिलो चरणमा माक्र्सवादको विकास गरि सकेको छ । साथै माक्र्सवादले माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरणमा लेनिनवादमा विकास गरि सकेको छ । र माक्र्सवाद–लेनिनवादले माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादमा विकास गरि सकेको छ । अतः आज यसरी माक्र्सवाद–लेनिनवाद–माओवाद क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको पथप्रदर्शक सिद्धान्त, मार्गदर्शक सिद्धान्त बन्न पुगेको छ । साथै मालेमावाद विश्वसर्वहारावर्गको मुक्ति सिद्धान्त समेत बन्न पुगेको छ ।
यसलाई अझै सरल भाषामा सबैले बुझ्ने गरि यसरी व्याख्या गर्न सकिन्छ कि आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अमेद्य ईकाइका रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ । त्यसैले माओवादलाई आजको विश्वको माक्र्सवाद–लेनिनवादको रुपमा ग्रहण नगरिकन कोही पनि सच्चा कम्युनिष्ट बन्न सक्तैन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले माओवादलाई त के माओत्सेतुङ विचारधारालाई समेत परित्याग गरेर ‘जनताको बहुदलीय जनवाद’ जो संसदीय पुँजीवादी विचारधारा हो त्यसलाई आफ्नो मार्ग दर्शन सिद्धान्त, पथप्रदर्शक सिद्धान्तका रुपमा ग्रहण गर्न पुगेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले माक्र्सवाद–लेनिनवाद–जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त भनेको छ । विश्वभरकै संशोधनवादी कम्युनिष्टाहरुले माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै आएका छन् । नेपालको दक्षिणपन्थी संशोधनवादमा पतन भएर प्रतिक्रियावादी क्याम्पमा हाम फाल्न पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले माक्र्सवाद लेनिनवाद राख्दैमा कम्युनिष्ट मानिदैन । त्यसमा पनि उसले ‘जनताको बहुदलीय जनवाद’ लाई पार्टीको गाइडलाइनका रुपमा राख्न पुगेको छ ।
जनताको बहुदलीय जनवाद दार्शनिक रुपले बहुलवादी सिद्धान्तमा आधारित विचार श्रृंखला हो । यो संसदवादी एवं पुँजीवादी विचारधारा हो । जबजले प्रस्टै रुपमा भनेको बहुमतको सरकार, अल्पमनको प्रतिपक्षा । यो संसदवादी पुँजीवादी विचारधारा हो । यो सच्चा कम्युनिष्ट पार्टीहरुको मार्गदर्शन सिद्धान्त नभएर पुँजीवादी संसदवादीहरुको मार्गादर्शन सिद्धान्त हो ।
एमालेले पहिलेदेखि नै संसदीय व्यवस्थालाई स्वीकारेर आएको हो भने एमाओवादी हुदै माकेले पनि संसदीय व्यवस्थालाई आत्मसात गर्दै प्रतिक्रियावादी संविधान बनाएर संसदीय व्यवस्थालाई बलियो बनाउँदै लैजाने नीति, सिद्धान्त र विचारमा सहमत भइसकेपछि एमालेमा विलप हुन पुगेको हो ।
त्यसैले मालेमावादलाई परित्याग गरेर, सर्वहारावर्गलाई परित्याग गरेर, नेपाली क्रान्तिप्रति गद्धारी गर्दै, नेपाली जनतालाई धोका दिदै ऐतिहासिक झापा विद्रोहका भगौडा एमालेहरु र महान दश वर्षे जनयुद्धका भगौडा माकेहरु एक अर्कोमा विलप भएर बनेको यो खिचडी नामको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्ट पार्टी नभएर सोसल डेमोक्रेटिक पार्टीका रुपमा, बुजुवा पार्टीको रुपमा परिणत भइसकेको घोर संसदवादी पार्टी हो ।
अहिले यो पार्टीसँग कम्युनिष्टको कुनै, साइनो र नाम निशानासम्म छैन । त्यसो भएर अहिले यो कुनै वर्गको राजनीतिक प्रतिनिधित्व गर्ने पार्टी पनि होइन किनभने यसले सर्वहारा वर्गलाई छोडेर आइसकेको छ । सर्वहारावर्गलाई बेइमानी गरेर आइसकेको छ । नेपालमा बुर्जुवा पुँजीपतिवर्गको, दलालतथा नोकरशाही पुँजीपतिवर्गको राजनीतिक प्रतिनिधित्व त नेपाली कांग्रेसले पो गरिरहेको छ भने समान्तवर्गको राजनीतिक प्रतिनिधित्व राप्रपाहरुले गर्दै आएका छन् । तसर्थ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग त कुनै वर्ग छैन । त्यसो भएर यसले कथित बहुमतको नाममा दलाल तथा नोकरशाही पूजीपति वर्ग र सामन्तवर्गको हित रक्षा तथा संरक्षण गर्दै प्रतिक्रियावादी सरकारको नेतृत्व गरिरहेको छ । त्यसैले ओली नेतृत्वको सरकारलाई दलाल सरकार भनिएको हो । यो प्रतिक्रियावादी सरकार हो ।
यो दलाल सरकार प्रतिक्रियावादी सरकार भएकै कारणले क्रान्तिकारी कम्युनिष्टहरु माथि भीषण दमनचक्र चलाइरहेको छ ।
यो पार्टी र यसको सरकार नेपालका दलाल तथा नोकरशाही पुँजीपति वर्ग र समान्त वर्गको निर्देशन र खटनपटनमा चल्ने भएकोले नेपाली जनता माथि चरम उत्पीडन दमन र शोषण गरिरहेको छ । मूल्य वृद्धि गराएको छ । जनता माथि चर्को कर असुली गरिरहेको छ । अभाव तथा वेरोजगारी समस्या बढाएको छ । अशान्ति मच्चाइरहेको छ । जनतामाथि भाँडभैलो मच्चाएको छ । यो यसको वास्तविक चरित्र हो ।
नाम कम्युनिष्टको दिएको छ । नारा समाजवादाको दिन पनि पछाडि परेको छैन । तर काम र व्यवहार भने पुजीपति वर्गको गरिरहेको छ । सामन्त वर्गको गरिरहेको छ । यी सबै कारणहरुले के पुष्टि गर्दैछन् भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्ट पार्टी होइन । दलाल पार्टी हो ।
यसले जनताको बीचमा कम्युनिष्ट भएको व्यापक भ्रम सिर्जना गरेर चुनावबाट धेरै मत पनि ल्याएको छ । कम्युनिष्ट सरकार बनाएको भनेर ठूलो भ्रम पनि छरिरहेको छ र जनतालाई ढाँटदै र झुक्याउँदै पनि आएको छ ।
अब नेपाली जनता यसको भूलभूलइयाँको पछि लाग्नु हुदैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्ट हुनु त धेरै परको कुरा हो यो वामपन्थीसम्म पनि होइन, यही तथ्यलाई नेपाली जनताले बुझ्न र जान्न जरुरी छ ।
कम्युनिष्ट पार्टी नेता कार्यकर्ताद्वारा सञ्चालित हुन्छ । त्यसका नेता कार्यकर्ताहरु सर्वहारा वर्गीय दृष्टिकोण र आचरणले लैस भएको हुनुपर्छ । कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले निजी सम्पत्तिको मोह गर्दैनन् । उनीहरुले निजी सम्पत्ति प्रति लोभ गर्दैनन् । उनको कुनै व्यक्तिगत स्वार्थ हुँदैन । उनीहरुले सम्पूर्ण जीवन देश, जनता पार्टी र क्रान्तिप्रति समर्पित गरेका हुन्छन् । उनीहरुसँग आफ्नो भन्ने कुनै चिज हुँदैन तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ताहरु अरबपतिका धनी छन् । पार्टीको आडमा राष्ट्रको अरबौं खरबौं सम्पत्ती माथि ब्रह्म लुट मच्चाइरहेका छन् । निजी सम्पत्तिका अत्यन्तै लोभी छन् । कहाँबाट धन पैसा आउँछ उतै उतै दौडिन्छन् । यस पार्टी नेता कार्यकर्ताहरुको सम्बन्ध र लेनदेन तस्करहरुसँग, भ्रष्टचारीहरुसँग, कालाबजारीयाहरुसँग, कमीशनखोरहरुसँग, शैक्षिक माफियाहरुसँग, मेनपावरका दलालहरुसँग, भ्रष्ट ठेकेदारहरुसँग कायम गर्दै आएका छन् । यस पार्टीका नेता कार्यकर्ताहरुले निजी स्कुल, निजी कलेजहरु, हाइड्रोपावरहरु, बैङ्कहरु जताततै, जहाँ जहाँ अवसर मिल्छ त्यहाँ त्यहाँ करोडौंको शेयरधनी बनेका छन् । ठूला ठूला कलेज तथा निजी अस्पतालका सञ्चालक बनेका छन् । ठेक्का पट्टा उनीहरुकै हातमा छ । राजधानी लगायत ठूला शहरहरुमा उनीहरुकै आलिशान महलहरु बनेका छन् । आफ्ना नाता गोता, घरपरिवारका मान्छेहरुलाई स्थानीय निकायहरुमा, संसदमा भर्ती गरेका छन् । स्थानीय तह, परदेश सभाहरु, संघीय संसद, राष्ट्रिय सभामा आफ्नो दर सन्तानलाई, आफ्नो कार्यकर्ताहरुलाई भर्ती गरेर दाना पानी जुटाई दिने थलो बनाई रहेका छन् । देश विदेशमा गएर अरबौंको राष्ट्रिय सम्पत्ति यिनैले भ्रष्टचार गरेका छन् । यस प्रकारका अनैतिक, चरित्रहीन, भ्रष्टचारी नेता कार्यकर्ता भएको पार्टी दुनियाँमा कहीँ पनि कम्युनिष्ट पार्टी हुँदैन । यहाँ मैले धेरै लेखी रहन पर्दैन, यी मैले भनेका सबै कुराहरु दिनका घाम जस्तै नेपाली जनताहरुले छर्लङ्ग देखिसकेका छन् । यस्तो पार्टीलाई कम्युनिष्ट पार्टी भन्नु मुर्खता बाहेक अरु केही पनि हुँदैन ।
यी माथिका तथ्यहरुबाट यो प्रमाणित हुन्छ कि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्टको दोसल्लाह ओढेको नक्कली कम्युनिष्ट हो र यससँग दुनियाँका सामु भ्रम सिर्जना गर्न बाहेक अर्को विकल्प छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी