काठमाण्डौ।
बालबालिकामाथि हुने यौनदुर्व्यबहार , बलात्कारलगायत हिंसाले विकराल रूप लिँदै गएको छ । ०७४ चैतदेखि गत असारसम्म (३ महिनाको अवधिमा) १ सय २० जना बालबालिका यौन दुव्र्यवहार र बलात्कारजन्य घटनाबाट पीडित भएका छन् ।
केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनअनुसार ५७ जना बालबालिका चैत महिनामा मात्रै पीडित भएका छन् । दुईजना बालक जर्मन नागरिकबाट यौन दुर्व्यबहारमा परेका छन् भने १ सय १८ जना बालिका बलात्कृत भएका छन् । यही अवधिमा १२ प्रतिशत (१४ जना) बालिका सामूहिक बलात्कारमा परेका छन् ।
चिनजानकै बाट ४४ बालिका बलात्कृत
प्रतिवेदनअनुसार सामूहिक बलात्कार पीडित तीनजना बालिका सुस्त मनस्थितिका थिए । चिनजानकै व्यक्तिबाट ४४ जना बालिका बलात्कृत भएका छन् । त्यस्तै, छिमेकीबाट ३२ जना, आफ्नै बुबा तथा हाडनाताबाट १४ जना, प्रधानाध्यापक तथा शिक्षकबाट ९ जना, प्रहरी, सेना र कर्मचारीबाट ११ जना र घरेलु बालश्रममा रहेका ८ जना बालिका बलात्कृत भएका छन् । हाडनाताबाट बलात्कार भएका १४ जना बालिकामध्ये ८ जना बालिका आफ्नै बुबाबाट बलात्कारमा परेका छन् ।
६७५ बालबालिकाको अधिकार हनन
बालिका बलात्कारमा संलग्न अभियुक्तमध्ये १९ जना बालक तथा ९९ जना वयष्क छन् ।
समितिको प्रतिवेदनअनुसार यस अवधिमा ६ सय ७५ जना बालबालिकाको अधिकार हनन भएको छ ।लमजुङ, रामेछाप, नवलपरासी सुस्तापूर्व, सोलुखुम्बु, बाँके, गोरखा, इलाम र दाङ जिल्लामा भएका घटना प्रतिवेदनमा उल्लेख छन् ।
८ महिनाकी बालिका बाबुबाट बलात्कृत
नवलपरासीमा ८ महिने बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । नवलपरासीमा १५ वर्ष उमेरका बालिकाहरू धेरै संख्यामा बलात्कारबाट पीडित भएको प्रतिवेदनमा जनाइएको छ ।
बलात्कृत हुने बालिकामा ६ वर्ष वा सोभन्दामुनिका ५ जना, ७ देखि १० वर्षका १६ जना, ११ देखि १४ वर्षका २९ जना र १५ देखि १८ वर्षका ६८ जना छन् । सबैभन्दा कम उमेरको घटना नवलपरासीमा भएको छ ।
३ महिनामा ३२ बालबालिकाको हत्या
यस अवधिमा ३२ बालबालिकाको हत्या भएको छ । ७ जनाको अपहरणपछि हत्या भएको छ ।
अवैध सम्बन्धका कारण ९ जनाको, सौतेनी आमाबाबुबाट १० जनाको र घरायसी कलहका कारण ६ जनाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये ३८ प्रतिशत बालक, ३४ प्रतिशत बालिका र २८ प्रतिशत शिशु छन् ।
७ जनाको अपहरणपछि हत्या
यस अवधिमा अपहरणमा परेका १० मध्ये ७ जना बालबालिकाको अपहरणपछि हत्या भएको छ । २ जना अपहरणपश्चात् मुक्त भएको र एकजनाको अवस्था अज्ञात रहेको प्रतिवेदनमा उल्लेख छ ।
५० प्रतिशतलाई फिरौती रकमका लागि, ३० प्रतिशतलाई पारिवारिक रिसइवी साध्न र २० प्रतिशतलाई बालिकाले कानमा लगाएको सुनको मुन्द्रा लुट्न अपहरण गरिएको पाइएको छ ।
२३ बालबालिका बेचिए
प्रतिवेदनका अनुसार २३ जना बालबालिका बेचबिखनमा परेका छन् । जसमा १५ बालक र ८ बालिका छन् । यस्ता घटनाबाट प्रभावित बालबालिकामध्ये ८७ प्रतिशत अर्थात् २० जनाको चिनजानकै व्यक्तिबाट बालश्रम तथा अन्य कामको प्रलोभनमा परेर भारततर्फ बेचबिखन गर्न लैजाँदै गर्दा प्रहरीबाट उद्धार भएको छ ।
१३ प्रतिशत अर्थात् ३ जनालाई भारतमा सभा–सम्मेलन तथा विवाहमा नर्तकीका रूपमा प्रयोग गर्न लगेको प्रतिवेदनमा उल्लेख छ । देशका विभिन्न ८ जिल्लाका बालबालिका बेचबिखन तथा ओसार–पसारमा परेका छन् ।
गर्भपतन गराउने बढे
कानुनले लिंग पहिचानका आधारमा गर्भपतन गराउने उद्देश्यले भ्रूणको लिंग पहिचान गराएमा गर्ने–गराउने दुवैलाई ६ महिनादेखि २ वर्षसम्म कैदको व्यवस्था गरेको छ । यसैगरी लिंगका आधारमा गर्भपतन गर्ने–गराउने दुवैलाई १ वर्ष कैद तोकेको छ । तर, पनि काठमाडौंलगायत विभिन्न जिल्लामा गर्भपतन गराउनेको संख्या वृद्धि हुँदै गएको पाइएको छ ।
गर्भपतनका १९ घटना
यस अवधिमा गर्भपतनका १९ वटा घटना भएका छन् । त्यसमध्ये १५ वर्षमुनिका ३ जना र १६ देखि १८ वर्षसम्मका १६ जना किशोरी/युवतीले गर्भपतन गराएका छन् । गर्भपतन गराउनेमा कलेज पढ्ने अविवाहित बालिका पनि छन् । यसका साथै छोरा पाउने रहरले १५ जनाले गर्भपतन गराएका छन् । अवैध सम्बन्ध, गलत सामाजिक मूल्यमान्यता, छोराको चाहना अनि प्रविधिको गलत प्रयोगका कारण गर्भपतन गर्नेक्रम बढेको प्रतिवेदनमा उल्लेख छ ।
कुन प्रदेशमा कति पीडित ?
प्रदेश १ का १० जिल्लामा १७, प्रदेश २ का ७ जिल्लामा २४, प्रदेश ३ का ९ जिल्लामा २५, गण्डकी प्रदेशका ८ जिल्लामा २३ जना पीडित बनेका छन् । यस्तै, प्रदेश ५ का ७ जिल्लामा २१, कर्णाली प्रदेशका ३ जिल्लामा ६ र प्रदेश ७ का ३ जिल्लामा ४ जना बालबालिका यौन दुव्र्यवहार तथा बलात्कारबाट पीडित भएका छन् ।
सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सोसम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याए पनि घटनामा कमी नआएको प्रतिवेदनमा भनिएको छ । नयाँपत्रिकाबाट