काठमाडौं, ६ भदौ ।
मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद आज एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गरि मनाईदैछ ।
आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन् ।
एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिने गरिन्छ ।
नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैंसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ ।
कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ ।
इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बली दिन जंगलमा लगेपछि छोरालाई बली चढाउन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको मुस्लिम धर्मावलम्बीको विश्वास छ ।
यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२औं महिना जिल हिज्जाको १० औं तारिखमा भएकाले यस दिन बकर इद मनाउने परम्परा सुरु भएको मानिन्छ ।
मुस्लिम समुदायको बकर इदका अवसरमा प्रदेश नम्बर १ र ५ का सरकारले आज सार्वजनिक बिदासमेत दिएका छन् । प्रदेश २ सरकारले सार्वजनिक बिदा दिए पनि प्रदेशभित्रै कतिपय सरकारी कार्यालयमा बिदा दिइने गरिएको छैन ।
संघीय सरकार मातहतका कार्यालय इकाइहरुको रुपमा रहेको अदालत, बैंक तथा वितीय संस्था, संघीय प्रहरी इकाई र विद्युत प्राधिकरणलगायतको कार्यालयमा भने प्रदेश सरकरो बिदा कार्यान्वयन हुने गरेको छैन ।