काठमाडौं, २ भदौ ।
इनर्जी अफ एसिया भन्ने नाराका साथ आजबाट १८ औं एसियाली खेलकुद इन्डोनेसियाको जकार्तामा सुरु हुँदै छ ।
प्रतियोगिताको उद्घाटनमा एसियाका ४५ राष्ट्रका १२ हजार हाराहारीमा भाग लिने खेलाडीको आतिथ्यताका लागि इन्डोनेसियाले भरपूर शक्ति परिचालन गरेको छ ।
जकार्तामा उद्घाटन र समापन हुने यस एसियाडको अर्को आयोजक सहर पालेम्बाङ पनि हो । ४५ खेल समावेश एसियाडको १० खेल उक्त सहरमा हुनेछ ।
सन् १९६२ मा एसियाडको चौथो संस्करण आयोजना गरेको जकार्ताले दोस्रोपल्ट एसियाको कुम्भ खेल मेला आयोजना गर्ने अबसर पाएको हो ।
पछिल्लो समय द्रुत गतिमा आर्थिक विकास गरिरहेको इन्डोनेसियाले आफ्नो शक्ति खेलकुदमार्फत विश्वमाझ प्रदर्शन गर्दैछ । प्रतियोगिताका लागि झन्डै १५ हजार स्वयंसेवकलाई परिचालन गरेको छ ।
एसियाड भर ट्राफिक व्यवस्थापनलाई सहज पार्न ७० भन्दा बढी विद्यालयको पठनपाठन बन्द गरिएको छ । यसले गर्दा दैनिक ३० प्रतिशत ट्राफिकजामबाट मुक्ति मिल्ने अपेक्षा छ ।
सन् २०१६ को तथ्यांकअनुसार इन्डोनेसियाको जकार्ता विश्वकै आठौं ट्राफिक जाम हुने सहरको रुपमा चित्रित भएको थियो । इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले एसियाली खेलकुदको उद्घाटन गर्ने कार्यक्रम छ ।
मुख्य स्टेडियमसहित विभिन्न १२ इन्डोर रंगशालामा एसियाडका खेल हुनेछन् । एसियाडका लागि जेबीके रंगशाला पुनर्निर्माणलाई मात्रै झन्डै ४० मिलियन डलर खर्च गरेको जनाइएको छ ।
यसैबीच नेपालले एसियाडमा २९ खेलमा सहभागिता जनाउँदैछ । विभिन्न ईभेन्टमा गरी जम्मा १ सय ८७ खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
तर एसियाडमा नेपाल अहिलेसम्म स्वर्ण पदक हात पार्न सकेको छैन । २ संस्करणबाहेक बाँकी सबै संस्करणमा सहभागिता जनाएको नेपालले १ रजत र २२ कास्य गरी कुल २३ पदक हात पारेको छ ।
६७ वर्षे एसियाड इतिहासमा बैंकक एसियाड, १९९८ मा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले जितेको रजत पदक नै नेपालको गौरवशाली एसियाड पदक हो ।