मेयर र उपमेयरबीच विवाद, नगरपालिकाको काम प्रभावित

मेयर र उपमेयरबीच विवाद, नगरपालिकाको काम प्रभावित

  • शुक्रबार, भदौ १, २०७५
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

लहान।

लहान जिल्लाको कर्जन्हा नगरपालिकाको केन्द्र विवाद अझै मिल्न सकेको छैन । तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित मेयर गंगा पासवान र उपमेयर ज्ञानकुमारी श्रेष्ठबीच केन्द्रको विषयमा विवाद बढेपछि दैनिक प्रशासनिकसहित विकास निर्माणका काम प्रभावित भएका छन् ।

मेयर र उपमेयरको विवादले दैनिक प्रशासनिक कामसमेत प्रभावित हुँदा नगरसभाबाट पारित भएका दुई सय ४३ मध्ये धेरैजसो योजना कागजमै सीमित छन् । नगरपालिकाले छनोट गरेको नगर क्षेत्रको सार्वजनिक जग्गा छेकबार, थल्हा–गौताडी सडकमा कल्भर्ट, जिवापुलनजिकै कृषि बजार, नगर क्षेत्रका बजारमा सोलारबत्ती जडानजस्ता विकास निर्माणका काम थालनी नै भएका छैनन् ।

नगरसभाबाट छनोट भएका वडास्तरीय विकास निर्माण तथा लक्षित वर्गको कार्यक्रमको भुक्तानीसमेत बाँकी छ । नयाँ आर्थिक वर्षको पहिलो महिना बित्दै गर्दा चारवटा वडाको गरी ६८ लाख रुपैयाँ भुक्तानी रोकिएको वडाध्यक्षहरूको गुनासो छ ।

छुट्टाछुट्टै नागरिक समाज
मेयर र उपमेयरको पक्षमा नगरवासी विभाजित भएका छन् । प्रेसविज्ञप्ति र ज्ञापनपत्र पेस गर्ने विषयमा पनि होडबाजी चलेको छ ।पुराना राजनीतिकर्मीसमेत रहेका स्थानीय रामअवतार राईको संयोजकत्वमा गठन गरिएको १९ सदस्यीय समितिले १७ साउनमा उपमेयर श्रेष्ठको नेतृत्वमा नगरस्तरीय बजेट, योजना स्टिमेट र खर्चको विवरण माग गर्दै मेयरलाई ६ बुँदे ज्ञापनपत्र बुझाएको थियो । त्यसलगत्तै मेयर पासवान पक्षधर मानिने कुशेश्वर महतो संयोजक रहेको कर्जन्हा नागरिक समाजले २१ साउनमा नगरपालिकाको केन्द्र कर्जन्हा गाउँमै राख्नुपर्नेलगायत मागसहित नगरपालिकामा ज्ञापनपत्र बुझायो ।

कसरी भयो विवाद
स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुनु करिब एक महिनाअघि नगरपालिकामा रूपान्तरण भएको कर्जन्हाको केन्द्र अहिले भएको बगाहा गाउँमै तोकिएको थियो । स्थानीय तहको निर्वाचनपछि नगर कार्यपालिकाको पहिलो बैठकले आव ०७४/७५ सम्मका लागि कर्जन्हास्थित भाडाको भवनमा कार्यालय सञ्चालन गर्ने गरी निर्णय गरेको मेयर पासवान बताउँछन् । त्यसपछि स्थानीय बागबहादुर मगर र ओमप्रकाश महतोले उच्च अदालत जनकपुर राजविराज इजलासमा नगरको केन्द्र साबिककै ठाउँमा रहनुपर्ने माग गर्दै रिट हालेपछि अदालतले राजपत्रमा तोकिएकै ठाउँमा केन्द्र राख्न परमादेश जारी ग-यो ।

अदालतको आदेशपछि भाडाको भवनबाट कार्यालयका सामान सारेर पुनः बगाहामै कार्यालय सञ्चालन गरिएको छ । कर्जन्हा र बगाहा नगरपालिकाको ११ नम्बर वडामै पर्छन् । नगरको कार्यालय भवन निर्माणका लागि कर्जन्हास्थित जनसेवा माविको उत्तरपट्टि स्थानीय अगुवाले नौ कट्ठा १६ धुर जग्गा उपलब्ध गराएका छन् ।

नगरपालिकाको केन्द्र अहिले भएकै स्थान बगाहामा कायम गर्नुपर्ने उपमेयर श्रेष्ठको अडान छ भने मेयर पासवान तत्कालीन गाविस कार्यालयमा सञ्चालित कार्यालय साँघुरो भएकाले कर्जन्हा बजारमा सार्नुपर्ने तर्क गर्छन् ।नयाँपत्रिकाबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ