काठमाडौं, २८ साउन ।
देशका विभिन्न भूभागमा आज सामान्यदेखि पूर्ण बदली भई अधिकाशं स्थानमा बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले वर्षाको कारण नदि तथा खोलाहरुको पानीको सतह बढेर बाढी आउन सक्ने भएकाले सतर्क रहन पनि आग्रह गरेको छ ।
महाशाखाले एक सूचना जारी गर्दै दिउँसो पूर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने जनाएको छ । यस्तै राति पश्चिमका केही स्थानमा र मध्य तथा पूर्वका एक दुई स्थानमा भारी वर्षा हुने संभावना देखिएको महाशाखाले जनाएको छ।
हाल प्रदेश नं. १ को सुनसरी, प्रदेश नं. २, ५ र ६ का अधिकांश क्षेत्रमा वर्षा भइरहेकाले सतर्क रहन भनिएको छ। तराई तथा चुरे क्षेत्रमा ठुलो वर्षा भैरहेकोले ती प्रदेशका चुरेबाट बहने नदीहरुमा पानीको बहाव बढीरहेकाले नदी आसपासमा सतर्कता अपनाउँन महाशाखाको आग्रह छ।
महाशाखाले आज देशका प्रमुख नदीहरु बबई, कन्काई, सप्तकोशी र यसका शाखा नदीहरु, कमला, बागमती, नारायणी, पश्चिम राप्ति, मछेली, मोहना, कान्द्रा, लगायत नदीमा पानीको सतह बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो।
उता, धौलीगङ्गा जलविद्युत् परियोजनाको भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगङ्गामा रहेको बाँध खोलिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना निकालेर बाँध सरसफाइका लागि भन्दै आज बिहान खुला गरिन लागेकोले सम्भावित बाढीबारे सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकालीमा बाढी आउने खतरा हुने भएकाले नदी तटीय क्षेत्रका नागरिकलाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाँधको पानीका कारण महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको हो ।
दार्चुलाको ब्यास, दुहू, मालिकार्जुन र लेकम गाउँपालिकाका साथै महाकाली नदीतटीय क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई सुरक्षित भएर बस्न एवं सतर्कता अपनाउन भनिएको छ ।
पछिल्लो समय बाँध खोल्ने समयबारे जानकारी गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । यस वर्षमात्रै धौलीगङ्गाको बाँध चारपटक खोलिएको छ ।