काठमाण्डौ, साउन २८ ।
अबिरल बर्षाका कारण दाङका खोलाहरुमा बाढी आउँदा आज बिहानदेखि लमही— तुलसीपुर सडकमा यातायात ठप्प भएको छ ।
लमही—तुल्सीपुर सडकखण्ड अन्तरगत बबइखोला, पत्रेखोला, सग्राम खोला, ग्वारखोला लगायतका खोलामा बाढी आएका कारण सवारी साधन चल्न सकेका छैनन् ।
खोलामा बाढी आएपछि मोटरसाइकल जोखिम मोलेर र्डोयाएर तार्नु पर्ने बाध्यता कारण सबैभन्दा बढि मोटरसाइकल चालकहरु मारमा परेका छन् ।
दैनिक जस्तै आउने बाढीमा मोटरसाइकलहरु दिनहुँ जसो खोलामा पल्टने तथा बग्ने गरेका छन् । जनधनको क्षति हुन नदिन बाढी आउनेबित्तिकै प्रहरीले खोलाको दुवै किनारमा पहरा दिने गरेको छ ।
दाङको लमही तुलसीपुर सडकमा पर्ने दश ओटा खोला मध्ये ९ ओटा खोलामा पुल नहुँदा यात्रु तथा सवारी साधनले वर्षौदेखी सास्ती खेप्दै आएका छन् ।
आईतवारदेखि परेको निरन्तरको वर्षाको कारण दाङको राप्ती नदीमा बाढी बढेपछि आज बिहानैदेखि चेतावनीको साईरन बजाइएको छ । निरन्तर पानी परेकाले राप्ती नदीको चर्नेटा, बागास्वोती, कुशुममा जलसतह बढ्दै गएपछि चेतावानीको साइरन बजिरहेको छ ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालले नदि तटीय क्षेत्रमा बसोबास गर्ने समुदायमा सुचन प्रवाह गरी सावधानी अपनाउन आग्रह गर्नुभयो ।
साना खोलाहरुको बहाब तीव्र वृद्धि भैरहेको छ । लमही–तुलसीपुर–लमही सम्मको यात्रा गर्दा सावधानी आपनाउन पनि आग्रह गरिएको छ ।