विराटनगर, २८ साउन ।
विराटनगर महानगरपालिकाको मुख्य भवनको दोस्रो तलामा आइतबार दिउँसो शक्तिशाली कुकर बम विस्फोट भएको छ । विस्फोटबाट भवनमा क्षति पुगेको छ । जनतान्त्रिक तराई मुक्तिमोर्चा अध्यक्ष जयकृष्ण गोइतले फेसबुकमार्फत विस्फोटको जिम्मेवारी लिएका छन् । शासनको बलमा तीन तहको निर्वाचन गराएर मधेसमा मधेसीहरूमाथि अन्याय गरेकाले बम विस्फोट गराएको उनको स्टाटसमा उल्लेख छ ।
मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्की जग्गा विवाद मिलाउन बैठक बसिरहेका वेला पराजुलीको कार्यकक्षअगाडि प्यासेजमा विस्फोट गरिएको हो । विस्फोटपछि कर्मचारी र सेवाग्राहीबीच भागाभाग भएको थियो ।
विस्फोटबाट कार्यालयको झ्याल र दराजका सिसा फुटेका छन् । प्यासेजमा रहेका फर्निचरमा क्षति पुगेको छ । विस्फोटले दोस्रो तलामा फुटेका सिसा झरेर मेयर चढ्ने गाडीको पछाडिको सिसा पनि फुटेको छ ।
विस्फोटको केही समयमा नै पुगेको प्रहरीले महानगर कार्यालयलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि नेपाली सेनाको अर्जुनवाण गणबाट आएको डिस्पोजल टोलीले थप बम भए नभएको निरीक्षण गरेको थियो । प्रहरीले पनि जासुसी कुकुर ल्याएर अनुसन्धान गरेको थियो ।
मोरंगका एसपी मनोज केसीले बम विस्फोट गराउने शंकास्पद आठजनालाई नियन्त्रणमा लिएको जानकारी दिए । उनले भने, ‘बम कसले विस्फोट गरायो भन्ने अझै क्लियर भैसकेको छैन, हामी अनुसन्धान गरिरहेका छौँ ।’नयाँपत्रिकाबाट ।