पर्वत, २६ साउन ।
पर्वतको मोदी खोलाबाट बालुवा तस्करी तीव्र रुपमा बढेको छ । मोदी खोलाबाट अवैध रुपमा जथाभावी गिट्टी-वालुवा निकाल्ने गरिएका कारण नदि आसपासका स्थानीय त्रसित बनेका छन् ।
मध्यराति नदीबाट जथाभावी गिट्टी बालुवा निकालेर लैजाने गरेका कारण मोदी गाउँपालिका वडा नबर ६ तिलाहर डिमुबाको पुरै बस्तीमाथि जोखिम बढेको भन्दै स्थानीय त्रसित बनेका हुन् ।
नदीबाट जथाभावी बालुवा निकाल्दा वर्षातको समयमा जुनसुकै बेला नदी बस्तीमा पस्न सक्ने खतरा बढेको छ । मोदी गाउँपालिकाको ६ नम्बर वडामा पर्ने बाग्लुङ पोखरा राजमार्गसँगैको तल्लो डिमुवा बजार खतरामा परेको हो । सो क्षेत्रमा रहेको डिमुवा चौकीभन्दा करिब १०० मिटरको दूरीमा रहेको मोदी खोलाबाट रातको समयमा डोजर र लोडर प्रयोग गरी निकाल्ने गरिएको छ ।
रातारात बालुवा चोरी निकासी हुँदासम्म स्थानीय प्रशासन भने मौन बसेको स्थानीय बताउँछन् । नदीहरुमा बालुवा निकालिएका ठूला खाल्डाहरु पनि देख्न सकिन्छ ।

यहि खोलबाट तीन वटा जलबिद्युत आयोजना सन्चालित छन् । तल्लो मोदीखोला १ जलबिद्युत आयोजना, देउपुर गाविसमा रहेको मोदीखोला जलविद्युत आयोजना र देउराली गाबिसमा रहेको पातीखोला जलबिद्युत आयोजना सञ्चालित छन् । बर्षातको बेला यिनै आयोजना समेत प्रभावित हुने गरेकोमा पछिल्लोपटक विभिन्न स्थानबाट जथाभावी बालुवा निकाल्ने कार्य तीव्र बन्दा झन् ठूलो जोखिम बढेको हो ।

यसरी डोजर र लोडरको प्रयोगबाट नदी नै छेक्ने गरी गिट्टी-बालुवा निकाल्ने कार्य जारी राखिए नदी नै बस्तीमा पस्न सक्ने स्थानीय बासिन्दा बताउँछन् ।
मोदी खोलाका कारण सो क्षेत्रका ९५ घरसहित प्रहरी चौकी समेत जोखिममा परेको छ । शुक्रबार राति पनि सो क्षेत्रबाट बालुवा निकालिएको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् । खोलाबाट यसरी बालुवा निकाल्ने कार्य बन्द गराउन आग्रह गर्दै गाउँपालिकामा निवेदन दिने तयारी गरेको पनि बताइएको छ ।