तिमी महिला र म पुरुष
हामी दुई जैविक भिन्नता मात्र होइनौं !
हो हामी भिन्न हौं
भिन्न हुनुको अर्थ असमान होइन
भिन्न हुनुको अर्थ
एकले अर्कोलाई उत्पीडन गर्नु पनि होइन
म वीर तिमी अवला पनि होइन
झन म शिकारी तिमी शिकार त हुदैहोइन !
न म भोक्ता तिमी भोग्या हौ
न तिमी सुन्दर र म पराक्रमी नै हुँ
हामी भिन्न तर वरावरी हौं !
यौटै प्रकृति र यौटै कोखका
यौटै प्रकृयाका श्रृष्टि हामी !
गर्भबाट जन्मदा हामी
समान हैसियतमा हुन्छौं
फेरि जन्मन्छौं समाजको गर्भबाट
हो त्यो दोश्रो पटक जन्मदा
तिमी महिला मात्र रहन्नौ
म पुरुष मात्र रहन्न
हामीमाथि थप कुरा आरोपित हुन्छ
विभेदको क्रुर कारखाना हो यो समाज !
पसुहरू र पंक्षीहरू
जलचर, थलचर र उभयचरहरू
तिनीहरूभित्र पनि छन् पोथी र भाले
तर तिनीहरू वलात्कार गर्दैनन्
सामुहिक वलात्कार त झन् गर्दैनन् !
पसु जगतबाट छुट्टिएर
सभ्यताको यो शिखरमा पुगेर पनि
म तिमीलाई बलत्कार गर्छु
या वलात्कार वारे सोचिरहन्छु
के म महिलालाई बलात्कार गर्न जन्मेको हुँ ?
किन महिलाहरू बलात्कारी हुदैनन् ?
प्रिय महिला साथी
मलाई पटक्कै बलात्कारी बन्न मन छैन
तै पनि मभित्र अझै
किन अट्टहास गर्छ अस्लिल पुरुष ,
र वारम्वार तिम्रो छात्तीतिर चिहाउँछ ?
हजारौं वर्षको अभिमान वोकेको
हजारौं वर्षको आयु वाँचिरहेको
जरा जीर्ण
कुरूप कृतघ्न
अत्याचारी पुरुष म
चरम आत्मग्लानी सहित
तिमीसँग माफी माग्छु
र प्रतिज्ञा गर्छु –
म कहिलै तिमीलाई बलात्कार गर्दिन !
इतिहासका समस्त अपराधप्रति
लाजले सिर झुकाउँदै
तिम्रो अघिल्तिर उभिएको
कलङ्कित पुरुषलाई
मेरै हातले हत्या गर्न चाहन्छु
र जन्मन चाहन्छु
तिम्रो असल प्रेमी भएर !
म तिम्रो प्रेमी बन्न चाहन्छु -पीडक होइन !
गौंडा गल्ली र कुइनेटा ढुक्ने
पासविक बलात्कारी होइन
एउटा प्रेमी प्रेमी र मात्र प्रेमी !
के तिमी मलाई विश्वास गर्छ्यौ ?
– बलराम तिमल्सिना
२०७५|०४|२०
ढल्को