काठमाडौँ, २४ साउन ।
काठमाडौँ महानगरापलिकाले सडक छेउमा अव्यवस्थित रूपमा छरिएर रहेका तार व्यवस्थापन गर्न थालेको छ ।
आगामी भदौ १४ र १५ गते काठमाडौँमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनका लागि शहरलाई सुन्दर बनाउन पछिल्लो समय कामपाले उक्त कार्यलाई तीव्रता दिएको हो ।
अव्यवस्थित रूपमा विभिन्न निकायले राखेका तारले शहरको सौन्दर्य बिगारेकोले ती सबै तार हटाउन लागिएको कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार विभिन्न निकायले यत्रतत्र तार छरेर शहरलाई कुरुप बनाएका थिए, अब ती सबै हटाइन्छ र व्यवस्थित रूपमा टाँगिएको तार मात्र राखिने गरी काम अघि बढिरहेको छ । पुतलीसडक, प्रदर्शनीमार्ग, लौनचौर, सोल्टी होटल जाने बाटो, राष्ट्रपति कार्यालय वरपरका स्थानका तार व्यवस्थापनको काम तीव्र रूपमा भइरहेको छ ।
कामपाले यो काम गत मंसिरबाटै शुरु गरेको हो तर अहिले विषेश चासोका साथ हेरिएको हो । अहिलेसम्ममा मिनी टाटाको ६५ टिप तार जम्मा भइसकेको छ ।
सुरक्षाको दृष्टिले जोखिम बनेका, भुइँमा लतारिएका, प्रयोग नगरिएका तारले थप समस्या निम्त्याउने भएकाले तिनको व्यवस्थापन गर्नु अत्यावश्यक भएको र शहर सुन्दर देखाउनका लागि व्यवस्थापनको काम अघि बढाइएको बताइएको छ ।
सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, म्यानमार, थाइल्यान्ड, भुटान र श्रीलंका सदस्य राष्ट्र छन् । सन् २००४ मा नेपालले बिमस्टेकको सदस्यता पाएको हो । बिमस्टेकको यसअघिको सम्मेलन सन् २००४ मा थाइल्यान्डमा, दोस्रो सन् २००८ मा भारत र तेस्रो सन् २०१४ मा म्यानमारमा भएको थियो ।