काठमाडौं, साउन २३ ।
काठमाडौँ महानगरपालिकाले चालू आवमा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने भएको छ ।
दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो ।
टेकु भन्सार, त्रिपुरेश्वर, माइतीघर, बबरमहल ९ काठमाडौँ जिल्ला अदालत, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पुल बनाइनेछ । सवारीसाधनको अत्यधिक चाप हुने सो क्षेत्रमा त्यस्तो पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या पर्र्दै आएको छ ।
पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको अवस्था देखिँदै आएको छ । नयाँ ती पुल बनाउन रु १२ करोड बजेट विनियोजन गरिएको छ । यस्तै विज्ञापन राख्न नमिल्ने गरी केही स्थानको आकाशे पुलको डिजाइन तयार पारिएको छ भने केहि पुलको डिजाइन तयारीको चरणमा छ ।
महानगरले यसअघि निर्माण गरेको आकाशे पुलमा विज्ञापन राखेर आम्दानी गर्दै आएको थियो । कामपाले केही समयदेखि जथाभावी विज्ञापन, पर्चा पम्पलेट, पोस्टर टाँस्न रोक लगाएको छ । गत आवमा कामपाले विज्ञापन करबापत रु १० करोड ९४ लाख ८६ हजार ७९ असुल गरेको थियो ।
नयाँ बन्ने पुल एक ठाउँबाट अर्को ठाउँमा आवश्यकताअनुसार सजिलै स्थानान्तरण गर्न सकिने छ । यस्तो पुल पहिलो पटक बन्न लागेको हो । यसअघि परीक्षणका रुपमा पुरानो बसर्पाक अगाडि स्थानान्तरण गर्न मिल्ने पुल बनेको थियो ।
डिजाइन तयार भएका पुल बनाउन बोलपत्र आह्वान यही साउनभित्रै गरी निर्माण शुरु गरिने तयारी छ । अब बन्ने पुल भने कामपाले आफ्नै खर्चमा बनाउन लागेको हो ।