काठमाडौं, साउन २१ ।
नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान स्वदेश फर्किएको छ । नेपालले नेदरल्याण्डविरुद्धको एक दिवसीय सिरिज बराबरी बनाउन सफल भएको थियो ।
पहिलो पटक ऐतिहासिक एकदिवसीय सिरिज खेलेको नेपाली टोलीलाई भव्य स्वागत गरिएको छ । नेपाली टोलीलाई आज बिहान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले स्वागत गरेका हुन् ।
नेपालले एक दिवसीय सिरिजको दोस्रो तथा अन्तिम खेलमा १ रनको रोमाञ्चक जित पार्दै सिरिज बराबरी बनाउन सफल भएको थियो । ऐतिहासिक एक दिवसीय खेलमा नेपालले पाएको यो अहिलेसम्मकै ठूलो सफलता र उपलब्धि हो ।
नेपाली टोली डेब्यू एक दिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेट प्रतियोगिता र मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्डसँगको त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिताको लागि गएको साउन २ गते युरोप भ्रमणमा गएको थियो ।
यूरोप भ्रमण अवधिभर नेपाली क्रिकेट टोलीको प्रदर्शन शानदार रह्यो । नेदरल्यान्डविरुद्धको ऐतिहासिक एक दिवसीय सिरिजलाई नेपालले बराबरी गर्न सफल भयो ।
लण्डनको लर्डस् मैदानमा भएको त्रिकोणात्मक सिरिजमा पनि नेपाल र नेदरल्यान्ड संयुक्त रुपमा विजयी भए । अभ्यास खेलमा नेपालले तीन खेलमा जित हात पारेको थियो ।
बेलायत र नेदरल्याण्ड्सको भ्रमण सकेर स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले अब आफूहरुको ध्यान एसिया कपका लागि केन्द्रित हुने बताएका छन् ।
एसियाका टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै छनोट प्रक्रियाबाट गएको एक देशले एसिया कप क्रिकेट खेल्नेछ ।
अगष्ट २९ देखि सेप्टेम्बर ६ सम्म भारतमा हुने छनोटमा नेपालसँगै हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया छन् । समूह एमा नेपाल, हङकङ र मलेसिया छन् ।
एकदिवसीय खेलमा नेपालले गरेको प्रदर्शनले एसिया कपका लागि फाइदा पुगेको प्रशिक्षक टमाटाले बताएका छन् ।
उनले नेपाले एकदिवसीय क्रिकेट खेल्छ भन्ने सपना आफूसँग पहिल्यै रहेको र अब यस्तै क्रिकेटलाई निरन्तरता दिन सके १० वर्षभित्र टेस्ट खेल्न सकिने पनि बताए ।
‘नेपालले एकदिवसीय खेल खेल्छ भन्ने सपना त मसँग पहिलेदेखि नै थियो । मेरै पालामा हुन्छ भन्ने कुरा नै त सोचेर बसेको होइन । तर, मेरै पालमा हुनु मेरा लागि खुसीको कुरा हुँदै हो । यसमा सुरुबाट उमेर समूहदेखि जो-जो प्रशिक्षकले काम गरे उनीहरु सबैको योगदान ठूलो छ’ उनले भने, ‘ यस्तै अवसर पाउँदै जाने हो भने आठ दश वर्षमा टेस्ट क्रिकेटसम्म पनि पुग्न सकिन्छ ।’