काठमाडौं, साउन २१ ।
काठमाडौं उपत्यकामा आज बिहानैदेखिको अविरल वर्षाका कारण विभिन्न खोला–नालामा जलस्तर बढेपछि नदि किनारका सुकुम्वासी बस्ती जोखिममा परेका छन् ।
बागमती, विष्णुमतीलगायत नदीमा पानीको सतह बढेको छ । सिनामंगल क्षेत्रमा बागमती नदी किनारमा बस्दै आएको सुकुम्बासी बस्ती बागमतीमा आएको बाढीले खतरामा परेको छ ।
सो क्षेत्रमा बागमती नदीको जलस्तर बढेर सुकुम्बासी बस्तीका कयौं घरको जग तथा पर्खालसम्म पुगेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालका वर्षा हुने सम्भावना छ ।
आज दिउँसो पश्चिम क्षेत्रका थोरै र मध्य तथा पूर्व क्षेत्रका एक÷दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि (मंगलबार) भने दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका मध्य र पश्चिमका धेरै स्थान तथा पूर्वका केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना छ ।
त्यस्तै बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको जनाइएको छ ।