नयाँ एकल बाल गीति संग्रह ” नन्दिता गुनगुन ” म्युजिक भिडियो लोकार्पण भएको छ । कार्यक्रममा वाङमय शताब्दि पुरुष संस्कृतिविद्् डा.सत्यमोहन जोशीको साथमा नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रिमियर इन्टरनेशनल स्कूलकी संस्थापक निर्देशक पवित्रा लिम्बु, म्यूजिक नेपालका प्रवन्ध निर्देशक सन्तोष शर्मा, नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठ, नृत्य निर्देशक साथै म्यूजिक भिडियो निर्देशक प्रदीपमान श्रेष्ठ, नन्दिताका पिता नन्दनराज वैद्य र माता रीता नेमकुल वैद्यले संयुक्त रुपमा एल्वमको विमोचन गर्नुभयो ।
एल्वमको विमोचनसँगै संस्कृतिविद्् सत्यमोहन जोशीले अभिभावकले सन्तानमा आफ्ना इच्छाहरु लाद््न नहुने बताउनुभयो । आफ्ना इच्छाहरुमा बालबालिकालाई स्वतन्त्र छोडिदिए उनीहरुमा लुकेको प्रतिभा प्रष्फुटन हुने संस्कृतिविद्् जोशीको भनाई थियो । कतिपय अभिभावकले आफ्ना अधुरा इच्छाहरु सन्तानमा लादिदिने गर्दा बालबालिकामा भएका प्रतिभा हराएर जाने हुँदा यस पक्षमा अभिभावकले विशेष ध्यान दिनुपर्नेमा जोशीले जोड दिनुभयो ।
त्यसैगरी प्रिमियर इन्टरनेशनल स्कूलकी संस्थापक निर्देशक पवित्रा लिम्बुले कलाकारले तालीको अपेक्षामात्र नगरी गाली पनि सहर्ष स्वीकार्न सक्नुपर्ने धारणा राख्नुभयो । कलाकार ताली पाउने आशामा होइन, मनलाई खुसी बनाउन कला क्षेत्रमा लाग्नुपर्ने निर्देशक लिम्बुले बताउनुभयो । कला क्षेत्रमा अगाडि बढ््दा कहिलेकाहिँ आफैसँग पनि लडाईँ हुने र यस्तो परिस्थितीमा पनि मनलाई प्रतिवद्ध बनाई पाईला बढाइ नै रहनुपर्ने सुझाव निर्देशक लिम्बुले नन्दिता साथै सम्पूर्ण कलाकारलाई दिनुभयो ।
साथै, म्यूजिक नेपाल प्रा.लि.का प्रवन्ध निर्देशक सन्तोष शर्माले विकसित प्रविधीले संसारलाई सानो बनाइसकेको बताउँदै प्रविधीसँगै कला र कलाकारको क्षेत्र पनि व्यापक बनेको विचार पोख्नुभयो । अब नेपाली गीतसंगीतलाई क्षणभरमै संसारैभरि फैलाउन सकिने अवस्थामा प्रविधीको सहि सदुपयोग गर्दै यसबाट लाभ लिनुपर्नेमा शर्माले जोड दिनुभयो । नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भुवनदास श्रेष्ठले नन्दिताको कला र गायनको प्रशंसा गर्दै सफलताको शुभकामना दिनुभयो ।
सोही कार्यक्रममा बाल गायिक नन्दिताले एल्वमभित्रका गीत गाएर पनि सुनाएका थिए भने उक्त गीतमा बाल कलाकारहरुबाट नृत्य पनि प्रस्तुत गरिएको थियो ।


