आफ्नो ऐतिहासिक एकदिवसीय शृंखलाअन्तर्गत दोस्रो तथा अन्तिम खेलमा नेपाल शुक्रबार नेदरल्यान्ड्सविरुद्ध जितको खोजिमा छ । पहिलो खेलमा एक सय नब्बे रनको चुनौती पुरा गर्न नसक्नु मा ब्याटिंग मुख्य जिम्मेवार थियो ।
शुक्रबारको खेलमा नजिता आफ्नो पक्षमा पार्न सकेको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट मान्यताप्राप्त एकदिवसीय खेलमा नेपालले पहिलो जित मात्रै हात पार्नेछैन, नेदरल्यान्ड्सविरुद्ध जारी दुई खेलको शृंखला १-१ को बराबरीमा टुंग्याउनेछ। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको २२ वर्षपछि पहिलोपटक एकदिवसीय क्रिकेट खेल्ने अवसर प्राप्त गरेको छ।
नेपाल बुधबार भएको आफ्नो पहिलो एकदिवसीय खेलमा भने नेदरल्यान्ड्ससँग ५५ रनको भारी अन्तरले पराजित भएको थियो।
प्रारम्भिक ब्याट्सम्यानद्वय अनिल साह र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए पनि ‘मिडल अर्डर’ र ‘लोयर मिडल अर्डर’का ब्याट्सम्यानहरू सहजै आउट भएपछि नेपालले खेलमा राम्रो पकड बनाएर पनि पराजय बेहोरेको थियो।
भरपर्दा ब्याट्सम्यान आरिफ सेखसहित नेपालका चार खेलाडी कुनै रन नजोडी आउट हुन पुगेका थिए ।
पहिलो खेलको कमजोर प्रदर्शन र भरपर्दा ब्याट्सम्यान शरद भेषावकरको चोट ठीक नभएको अवस्थामा शुक्रबार नेपाली टोलीबाट अर्का एक ब्याट्सम्यानले एकदिवसीय खेलमा डेब्यु गर्ने अवसर प्राप्त गर्ने निश्चित छ। बुधबार फिल्डिङ गर्ने क्रममा बलसँग औंला ठोक्किँदा घाइते बनेका शरदले खेल्न नसक्ने अवस्थामा शुक्रबार पक्कै पनि उनको स्थानमा अर्को एक ब्याट्सम्यान मैदानमा उत्रनेछन्।
त्यसका साथै बुधबारको विकेटका आफ्ना मध्यम गतिका बलर प्रभावकारी देखिएकाले स्पिनर शक्ति गौचनको स्थानमै पनि नयाँ ब्याट्सम्यानले मैदानमा उत्रने अवसर पाउन सक्छन्। यो अवस्थामा सुवास खकुरेल वा क्षमतावान् युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले अवसर पाउन सक्छन्। उनीहरूको उपस्थितिमा नेपाली टोलीको ब्याटिङ ‘लाइन अप’ र फिल्डिङ अझ चुस्त बन्नेछ।