प्रज्वल श्रेष्ठ
नेपालमा हाल सम्म चलेका कुनै पनि शासन व्यवस्था र प्रणालीले मुलुकलाई अति कमजोर र समाजलाई अद्योगतितर्फ लगिरहेको छ ।
ईतिहासमा युरोपकै हाराहारीमा विकासको गति लिएको नेपाल पृथ्वी नारायण शाहले १७६८ मा एकीकरण गरेको ८ वर्ष पछि मात्रै अमेरीका बनेको थियो । हामीले युरोप संग संगै रोपवे र खानेपानीका पाइपलाइनहरु बिछ्यायौ । तर आज युरोप र नेपालीहरुको जीवन स्तरको कुनै तुलना गर्ने ठाँउ छैन ? युरोपको औद्धौगिक क्रान्तिसंगै सिचाइको लागि पानी तान्ने मोटर भित्र्यायौं । सन् १९११ मै चीनभन्दा पनि एक वर्ष अगाडि हामीले एसियाकै सबैभन्दा ठूलो ५०० किलोवाटको चन्द्रज्योति (हालको फर्पिङ) जलविद्युत आयोजना बनायौ । चीनले सन् १९१२ मा मात्रै २४० किलोवाटको सिलोङवा जलविद्युत आयोजना निर्माण गरेको थियो । अहिले एक सय वर्ष पछी चीनले ३ लाख मेगावाट भन्दा बढी जलविद्युत उत्पादन गरेको छ हामीले एक हजार मेगावाट विद्युत नियमित चलाउन सकेका छैनौ ।
आज हामी भन्दा पछि जन्मिएको देश र भोकमरीले ग्रस्त मुलुकहरु र औपनिवेशले थला परेका राष्ट्रहरुले उत्पादनको प्रचुरता र विज्ञान प्रविधिको विकासबाट समृद्धिको मार्गमा कायापलट गरीसके तर हामी अहिले मान्छेको ब्यापार गर्ने मुलुकमा दर्ज भएका छौ ।
अप्राविधिक ( मात्र बलको श्रम ) गर्न सक्ने ५० लाख बढी युवाहरुलाई खाडीमा बेचेर देशको अर्थतन्त्र चलिरहेको छ । प्रत्यक नेपालीको टाउकोमा विदेशी त्रृmणको भार बढेको बढेकै छ । कुल ग्राहस्थ उत्पादनको आधा भन्दा बढी हिस्सा क्रृणमा डुबेको छ मुलुक । जहिले निर्वाचन हुन्छ त्यो बेलाका घोषणा पत्रहरु, आम प्रचार र भाषणहरुमा ठूला ठुला मखमली सपनाहरु देखाईन्छ । समय वित्छ फेरी अर्को चुनाव आउछ फेरी मखमली सपना र भाषणको ब्यापार हुन्छ । यसरी नै हेर्दा २०१५ साल यता मुलुकमा पटक पटक विभिन्न निर्वाचनहरु भए । सरकारहरु र नेताहरु फेरवदल भए तर यसले देशलाई के दियो ? जनताले के पाए ?
आखिर यस्तो किन हुन्छ त ? विकास र समृद्धि किन भएन त ? यसको कारण के हो ? हामी नेपाली जनताले यसको मुल कारणबारे गंभीर हुन जरुरी छ । एम आइ टि अर्थशास्त्री र हार्वर्ड विश्वविद्यालयका राजनीतिज्ञ प्रोफेसरद्वय ड्युरोन आसेमग्लु र जेम्स रबिन्सनले समय पहिले प्रकाशित आफ्नो पुस्तक ‘ह्वाइ नेसन्स फेल’ मा कुनै पनि राष्ट्र धनी हुने वा गरिव हुने कुरा माथि उल्लेखित कुनै पनि कुरामा भर नपरि त्यो देशको ‘आर्थिक र राजनीतिक संस्थाहरुको संरचना’ कस्तो छ भन्ने कुरामा भर पर्दछ भनेर लेखेका छन् । उनीहरुका अनुसार समावेसी (इन्क्लुसिभ) आर्थिक र राजनीतिक संस्थाहरु भएका अमेरिका, क्यानाडा, दक्षिण कोरिया जस्ता देशहरु , जसले अधिकांस जनताको हितमा कार्य गर्छन,समृद्ध हुन्छन् भने दोहन गर्ने (एक्सट्रयाक्टिव) आर्थिक र राजनीतिक संस्थाहरु भएका देशहरु, जहाँ अधिकांस जनताको मूल्यमा मुट्ठीभर केही सम्भ्रान्त (एलिट) बर्गले फाइदा लिइरहेको हुन्छ, त्यस्ता देशहरु गरिव हुन्छन् ।
यो विष्लेषण हाम्रो मुलुकको विकास र समृद्धिमा सुहाउदो देखिन्छ । यस्तो अवस्था अहिलेको हाम्रो मुलुकमा छ । देशमा अधिकांस जनता पिडित छन् जनताकै नाममा मुट्ठिभर केहि ‘नेता, मन्त्री, व्यापारीको रुपमा देखा पर्ने माफियाहरुको समुहले ब्रम्हलुट गरिरहेका छन् ।
नेपालमा सात साल देखि जनयुद्ध र जनआन्दोलन २ सम्म आउदा यसले सीमित मान्छेलाई सत्तामा पुर्याउने र नयाँ छोटे महाराजाहरुको मात्र जन्म गरायो चाहे त्यो कोईरालाहरु हुन या प्रचण्ड ओलीहरु । अधिकांस जनताको जीवनमा यसले केहि फरक ल्याएको छैन ।
अहिले तपाई देख्न सक्नु हुन्छ राज्यको अधिकाश निकायहरुमा सत्तामा आउने राजनीतिक समुहहरुले आफू अनुकुल पात्रहरुलाई स्थान्तरण गरीरहेको छ । अहिले पुराना नियुक्तिको खारेजी र त्यसको विरोध यसको ज्वलन्त उदाहरण हो । संसदीय व्यवस्थामा भीड र बहुमतको जहिले पनि जीत हुन्छ । भीड परिचालनका लागि स्रोत साधनको खाचो हुन्छ र त्यो सजिलै प्राप्त हुने संस्था भनेको सरकार हो । त्यसैले हरेक संसदीय पार्टीहरु सरकारमा जान मरिहत्ते गर्दछन् । पाच वर्ष बेरोजगार हुनु उनीहरुका लागि ठूलो आर्थिक घाटा हुन्छ ।
अहिले कम्युनिष्टको नाममा चरम दलाल पुजीवादी प्रणाली निर्माणमा तल्लिन ओली प्रचण्ड समुहले देशलाई माफियाहरुको पन्जाभित्र पार्दे लगेका छन् ।
अहिले मेडिकल क्षेत्रमा होस या शिक्षा क्षेत्रमा, वनमा होस् या विज्ञानमा र निर्माणमा माफियाहरुसगँ सत्तामा बसेका ठूला नेताहरुको भोज मिटिग बढी देखिन्छ । समाजवादको नारा दिएर उनीहरुले ठूलो मखमली सपना बाडेर चुनाव जीते तर के उनीहरुले वास्तविक समाजवादको लागि केही काम गरेका छन् त ? के हो समाजवादको आधार ? समाजवादमा जनताले पाउने न्युनतम सुविधाहरु के हुन् ? कम्युनिष्ट सरकारहरुले क्युवा, चीन, रुसमा कसरी जनतालाई शिक्षा , श्वास्थ्य मा सुविधा पुर्याएका थिए छन् ?
यसबारे चासो छैन उनीहरुलाई । यहा त जनता मृगौलाको डायलसीस गर्न नपाएर मरिरहेका छन् र ओलीलाई पखाला चल्दा बैंकक पुर्याईन्छ किन ? प्रचण्डकी श्रीमतिलाई पानी थेरापी गर्न सिंहापुर लानु पर्ने किन ? के सबै जनताले नेताले पाए जस्तो राज्यबाट सुविधा पाउने भए कर्णालीमा नागरिकको औषत आयु किन यति कम ?
विकासका सबै आयोजना कमिसनको प्रलोभनमा आफ्नालाई पार्ने, आफ्नो पार्टीकालाई पार्ने, आयोजनाहरुलाइ आफ्ना कार्यकर्ताहरुको लागि भर्तिकेन्द्र बनाएको देखिन्छ । सरकारका मन्त्रीहरुको सबै समय कर्मचारिहरुको सरुवामै बित्छ भने कर्मचारिहरुको समय मन्त्री, नेता र उनका भातृसंगठनका कार्यकर्ताहरुको सेवा चाकरि मै बित्छ ।
यहाँ वैज्ञानिक, डाक्टर, इन्जिनियर, प्रोफेसर, कर्मचारी, शिक्षक,व्यापारि, निर्माण व्यवसायी, उध्यमी, आइ. एन. जि. ओ.र एन.जि. ओ., किसान सबैले राजनीति गरीरहेका छन् । किनकी यसै कार्यमा राम्रो ‘इन्सेटिव’ छ । कुनै न कुनै समुहको पछी नलागे राज्यको स्रोत, साधन र उसले प्रदान गर्ने अवसरहरुबाट बन्चित भइएला कि भन्ने सबैलाइ डर छ । नभए यति धेरै राजनीतिक पार्टीहरु र सयौंको संख्यामा तिनका भातृ संगठनहरुको आवश्यकता के थियो र यहाँ ? एक्सट्र्या्क्टिव संरचनाको यो भन्दा गतिलो उदाहरण अरु केहि होला ?
हामीलाई के लाग्छ भने जब सम्म माफियाहरुले फलामको पर्दा भित्रबाट देश र राज्यलाई प्रभावमा पारेर ब्रम्हलुट गरीरहन्छन् त्यो बेला सम्म जनताले समृद्धिको आशा गर्नु सपना मात्र हुने छ । यो अन्त्य त्यो बेला हुन्छ जब देशमा संसदीय व्यवस्था र माफियातन्त्रको अन्त्य गरेर मुलुक नयाँ चरणमा जादैन ।
त्यसैले जनताले बेलैमा सचेत हुन जरुरी छ यो व्यवस्थाले अब हामीलाई दिने भनेको महंगी, लुट, भ्रष्टाचार , कमिसनको भार हो । हामीले यो संसदीय व्यवस्था खारेज गरेर समाजवाद तर्फ जान ढिला गर्नु हुदैन । जनतालाई भेडो बनाएर आफ्नो स्वार्थ पुरा गर्ने शासकहरुलाई पाखा लगाउनुको विकल्प छैन । माफियाहरुको फलामको पर्दा उक्काउन अब सबै जनता जाग्नु पर्छ ।