चितवन, १३ साउन ।
प्राकृतिक रुपमा बाघलगायत वन्यजन्तुको मृत्युबारे संरक्षणकर्मीले चिन्ता प्रकट गरेका छन् ।
विश्व बाघ दिवसको अवसरमा आज बिहान चितवनको रत्ननगरमा भएको अन्तक्र्रिया तथा सचेतनामूलक कार्यक्रममा सहभागीले वन्यजन्तुको प्राकृतिक मृत्युबारे चिन्ता व्यक्त गर्दै त्यसको कारण पत्ता लगाउनुपर्नेमा जोड दिएका हुन् ।
चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले प्राकृतिक रुपमा वन्जयन्तुहरुको मृत्यु हुने क्रम बढेको भन्दै यसको अनुसन्धान जरुरी रहेको बताउनु भयो ।
पछिल्लो ८–१० महिनाको अन्तरालमा वरण्डाभार क्षेत्रमा मात्रै तीन वटा बाघ मरेको चर्चा गर्दै उहाँले यसको कारण पत्ता लगाउन नसके सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पार्ने योजना चुनौतीपूर्ण हुने बताउनुभयो । चितवनमा गएको एक वर्षमा ६ वटा बाघ मरेका थिए भने २६ वटा गैंँडा मरेका थिए ।
रत्ननगर नगरपालिका–७ का वडाध्यक्ष राजन भट्टले वन्यजन्तु मरेको विषयमा चासो नदिएकामा चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले स्थानीय सरकारको तर्फबाट संरक्षणमा ऐक्यबद्धता जनाउँदै अहिले संघीय, प्रदेश र स्थानीय सरकारबाट संरक्षणका लागि रु ६ करोड आएको जानकारी दिनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले वन्यजन्तु संरक्षणका लागि यस दिवसमा सबैले प्रण गर्न र आगामी वर्षभरी संरक्षण कार्यमा लाग्नसमेत आग्रह गर्नुभयो ।
पाठकका अनुसार हाल विश्वका १३ देशमा करीब तीन हजार ५०० बाघ छन् । विश्वका नौ प्रजातिका बाघमध्ये तीन प्रजाती लोप भइसकेको छ । चितवनमा पछिल्लो गणनामा १२० बाघ छन् भने नेपालमा १९८ बाघ रहेको तथ्यांक छ ।