१० साउन, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाई सकिएको छ । तर, निर्णय भोलि मात्रै हुने संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
सभापति कर्णले भन्नुभयो, ‘सुनुवाई आज सकिएको छ । निर्णय भोलि हुन्छ’ ।
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीविरूद्ध संसदीय सुनुवाइ समितिमा ५ वटा उजुरी परेका थिए । जसमा शैक्षिक प्रमाणपत्र लगायतका विषय थिए ।
यसैबीच , सत्तारुढ दल नेकपाका सांसद योगेश भट्टराईले अदालतका सबै बेञ्च र बहस लाइभ गर्न आग्रह गर्नुभएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिका लागि संसदको सुनुवाई समितिमा बोल्दै भट्टराइले अदालतका काम कारवाहीलाई पारदर्शी बनाउन र अदालतभित्र लोकतान्त्रिक अभ्यासका लागि यो विधि अप्नाउन सुझाव दिनुभएको हो ।
समितिको बैठकमा प्रधानन्याधीशका लागि दीपकराज जोशीमाथिको सुनुवाईबारे बोल्दै सांसद भट्टराईले अदालतमा विचौलियाको विगविगि रहेको बताउनु भएको छ । उहाले अदालतले विचौलियालाई निषेध गर्नु पर्ने कुरामा समेत जोड समेत दिनुभएको छ ।
सांसद भट्टराईले सर्वोच्च अदालतमा देखिने गरी १२ करोड वैदेशिक लगानी भएको दाबी गर्दै विगत १० वर्षमा कति पैसा आयो सार्वजनिक गर्न आग्रह समेत गर्नुभएको छ ।
सांसद भट्टराईले कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीलाई उहाले फैसला गरेको हाडिगाउँ र बालुवाटारको सरकारी जग्गाको मुद्दाको विवादबारे प्रश्न समेत गर्नुभएको हो ।