काठमाडौँ, ५ साउन ।
दोस्रो प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्रि म्याराथुन प्रतियोगिताको प्रथम र दोस्रो स्थान नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले प्राप्त गरेको छ ।
धादिङ जिल्लाको बैरेनीदेखि चरौदीसम्म आज सम्पन्न सो प्रतियोगिताको कूल ४३ दशमलव सात किलोमिटरमध्ये दुई घण्टा १८ मिनेट ४९ सेकेण्डमा पूरा गरी सो क्लबको टिम ए ले नगद रु एक लाख ५० हजारसहित पदक आफ्नो हात पारेको होे । कूल सो दूरीमध्ये ६.७ किमी दौड, २६ किमी साइक्लिङ र ११ किमी ¥याफ्टिङ रहेको थियो ।
यसैगरी सो प्रतियोगितामा सोही क्लबको टिम बि ले सो दूरी दुई घण्टा २८ मिनेट ४३ सकेण्ड पूरा गरी दोस्रो स्थान प्राप्त गरी नगद रु एक लाखसहित ट्रफि र सशस्त्र प्रहरी बलको टिम दुई घण्टा ३१ मिनेट २१ सेकेण्ड पूरा गरी तेस्रो स्थान प्राप्त गरी रु ७५ हजारसहित ट्रफी उचालेको थियो ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रतियोगिताका विजयी टिमलाई नगदसहित ट्रफी प्रदान गर्नुभएको थियो । यसैगरी प्रतियोगितामा सहभागी टिमलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले कदरपत्र प्रदान गर्नुभएको थियो ।
नेपाली सेनाको सो क्लबका दुई, सशस्त्र प्रहरी, राष्ट्रिय क्लब पाँच, महिला टिम गरी स्वदेशी नौ र बेलायतको ब्रिटिस गोर्खाज दुई टिम, बंगलादेश, श्रीलंकका गरी १३ टिमले सो प्रतिष्पर्धामा भाग लिएका थिए । प्रत्येक टिमका चार जनाको दरले कूल ५२ जना खेलाडीले भाग लिएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।