काठमाडौं, असार ३० । रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै छन् ।
नेपाली समयअनुसार आज साँझ पौने ८ बजे सेन्टर पिटर्सबर्ग रंगशालामा दुई टोलीबीच प्रतिस्पर्धा हुने छ ।
बेल्जियम फ्रान्ससँग र इङ्ल्यान्ड क्रोएसियासँग पराजित भएपछि तेस्रो स्थानका लागि यी दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो ।
बेल्जियम दोस्रो पटक तेस्रो स्थानको प्लेअफ खेल्दै छ । पछिल्लो पटक मेम्सिकोमा भएको सन् १९८६ को विश्वकपमा बेल्जियम फ्रान्ससँग अतिरिक्त समयमा ४–२ ले पराजित भएको थियो ।
इङ्ल्यान्ड पनि दोस्रो पटक तेस्रो स्थानका लागि खेल्दै छ । सन् १९९० मा आयोजक इटालीसँग २–१ ले पराजित हुँदै इङ्ल्यान्ड चौथो स्थानमा समेटिएको थियो ।
बेल्जियम र इङ्ल्यान्डले एकापसमा २२ पटक खेलेका छन् । दुई टोलीबीच पहिलो खेल ९७ वर्षअघि ब्रसेल्समा भएको थियो । उक्त खेलमा पाहुना टोली २–० ले विजयी भएको थियो ।
त्यसयता इङ्ल्यान्डले १४ खेल जितेको छ भने बेल्जियमले दोब्बर जित दर्ता गरेको छ ।
विश्वकपमा भने दुई टोलीबीच तीन पटक खेल भएको छ । सन् १९५४ मा भएको खेल ४–४ को बराबरीमा सकिएको थियो । सन् १९९० मा भने इङ्ल्यान्ड २–१ ले विजयी भएको थियो ।
जारी विश्वकपमा एउटै समूहमा परेका यी दुई टोलीबीचको समूह चरणको खेलमा भने बेल्जियमले जित हात पारेको थियो ।
समूह चरणको नतिजा दोर्होयाउने लक्ष्यका साथ बेल्जियम मैदानमा उत्रँदै छ भने हारको बदला लिने दाउ इङ्ल्यान्डको छ । विश्वकपको उपाधिका लागि भने आइतबार फ्रान्स र क्रोएसिया भिड्ने छन् ।