काठमाडौं, असार २८ ।
इंङल्याण्डलाई पराजित गर्दै क्रोएसिया रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा क्रोएसियाले इंङल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरी भए पछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको अतिरिक्त सयमको १ सय ९ मिनेटमा क्रोएसियाका मारीयो मान्ड्जुकिचले गोल गर्दै टोलीको जीत सुनिश्चित गरेका हुन् ।
क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेश गरेको हो । यसअघि सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा सहभागिता जनाएको क्रोएसिया आयोजकसँग सेमिफाइनलमा २–१ ले निराश बनेको थियो ।
उपाधिका लागि अब क्रोएसियाले आगामी आइतबार पौने ९ बजे फ्रान्ससँग प्रतिस्प्र्धा गर्नेछ । त्यस अघि तेस्रो स्थानका लागि आगामी शनिबार बेल्जियमले इंङल्याण्डको सामना गर्ने छ ।