अन्तर्मनका तरल तरङ्गहरु
जब चोरझैँ सुटुक्क आएर
अनावरण गर्दछन आँखासामु ,
तब हिजोको नायक उ ,
एकछिन टोलाउँछ
नियन्त्रण बाहिरको मस्तिष्कलाई
सान्त्वना दिन्छ ,
र केहिबेरमै झ्याप्प……
उ हराउँछ चकमन्न अन्धकारमा ।
नझार आँसु तिमी
उ पत्थर बन्यो ,
अब पल्टिने छैनन् तिम्रो तस्वीरहरु ,
फुल चुडेर पत्थर पुज्न पल्केको
तिमो समाज ,
आज मनाइरहेको छ
धुमधामसंग प्रतिघातका चाडहरु ।
फर्किनेछैन अब उ ,
किनकी इतिहास साक्षी छ
मुना र मदनको बीचमा सधैं ल्हासा हुन्छ ।
मृत्युपछी पनि निरन्तर चम्किरहेको ,
उ सातौ ब्रह्माण्डको ध्रुबिय तारा हो।
तिम्रो चक्रब्युहमा फसेर
प्रतिज्ञाबद्ध रहन सफल ,
उ महायोद्धा भीष्म हो ।
जमिनतिर लोलाएका आँखा ,
दबिएको झरी ,
घाँटीमा डोरीको डाम
र हातमा चिट्ठी ,
अनगिन्ती यात्राबाट थकित
उसले लगाएको छ आँफैलाई पुर्णविराम ।
-अर्जुन दाहाल
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline