काठमाडौं, असार १९।
विश्वकप फुटबलको नकआउट चरणमा सोमबार राति बेल्जियम र जापानबीच कडा प्रतिस्पर्धा भएको छ । कुनै समय २–० को अग्रतामा रहेको एसिउाली टोली जापानले अग्रता जोगाउन नसक्दा अन्तिम मिनेटमा हार व्यहोर्नु परेको छ ।
जापानका ४८औँ गेनकी हारागुचीले र ५१औँ मिनेटमा टाकासी इनुले गोल गरे । तीन मिनेटभित्र दुई गोल खाएको बेल्जिमले खेलमा फर्कन कठिन संघर्ष गर्नुपर्यो। बेल्जियमका लागि जन भेर्टङ्गनले ६९ औँ मिनेटमा गोल गरे। त्यसपछि मारोउने फिलाइनीले ७४ औँ मिनेटमा गोल गरे ।
निर्धारित ९० मिनेटमा बराबरीमा सकिएको खेलमा चार मिनेट अतिरिक्त समय थपिएको थियो। जसको चौथो मिनेटमा नासेर चडलीले बेल्जियमाका लागि विजयी गोल गरे। बेल्जियमले क्वाटरफाइनलमा अब ब्राजिलको सामना गर्नुपर्ने छ। ब्राजिल र बेल्जियमको नकआउट चरण खेल असार २२ गते हुने छ।
यसअघि रुसमा जारी विश्वकपमा ब्राजिलले मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
भरखरै सकिएको खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोल अन्तरले हराएको हो । उपाधिको दाबेदारको रुपमा हेरिएको मेक्सिको हारसँगै विश्वकपबाट बाहिरिएको छ ।
पहिलो हाफमा मेक्सिकोले ब्राजिललाई दबाव दिएको थियो । साथै गोल गर्ने केही मौका समेत पाएको थियो । तर, दोस्रो हाफमा ब्राजिल हाबी भयो ।
खेलको ५१ औं मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छँदा उनकै पासमा सब्सिच्युट फर्मिनोले गोल गरे ।