मृत्युले पर्खिंदैन- रवीन्द्र मिश्र

मृत्युले पर्खिंदैन- रवीन्द्र मिश्र

  • शनिबार, असार १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

करिब दुई साताअगाडि देशले एकजना होनाहार डाक्टर गुमायो । डा. उपेन्द्र देवकोटाको मृत्युमा सिँगो देश शोकाकूल भयो । देशको माटोप्रतिको उनको त्याग र भक्ति असाधारण रह्यो । उनले आफ्नो क्षेत्रबाट देशलाई पुर्‍याउन सक्ने योगदान ‘भनेर’ होइन, ‘गरेर’ देखाए । तर नेपालजस्तो देशमा आफ्नो क्षेत्रबाट गर्न सक्ने योगदानको सीमितताबारे उनी सचेत थिए र समग्र देशको रूपान्तरणका लागि देशको मूल नीति राजनीति नै हो भन्नेमा उनी सदा विश्वस्त रहे ।

त्यसबारे उनले धेरैपटक नसोचेका होइनन् । पूर्वराजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा सामेल नभएका पनि होइनन् । तत्पश्चात् धेरैसँग राजनीतिक छलाङबारे छलफल नगरेका होइनन् पनि । तर त्यो छलाङका लागि उनले ‘केही समय’ पर्खिन चाहे । उनले पर्खिए । मृत्युले पर्खिएन । उनी गए ।

दुई वर्षअघिको कुरा हो । मलगायत केही साथीहरू वैकल्पिक राजनीतिक यात्राका लागि घनीभूत अन्तरसंवादहरू गरिरहेका थियौं । वैकल्पिक राजनीतिमा चासो देखाएका धेरै व्यक्तित्वहरूसँग हामीले नयाँ राजनीतिक यात्राको आवश्यकताबारे कुराकानी गरिसकेका थियौं । अधिकांशमा चासो हुन्थ्यो, सकारात्मक सोच हुन्थ्यो । तर नितान्त नयाँ राजनीतिक यात्राको भारी बोक्ने र त्यो यात्राले बिथोलिदिने जीवन सामना गर्ने आँट हुँदैनथ्यो । कतिपयको विविध कारणले स्थिति नै अनुकूल हुँदैनथ्यो भने कतिपयलाई चासो भए पनि आफू त्यसका लागि उपयुक्त पात्र नभए झैं लाग्थ्यो ।

डा. देवकोटा वैकल्पिक राजनीतिमा व्यापक चासो भएका व्यक्ति थिए, तर उनीसँग मेरो भेट‍ भइसकेको थिएन । उनलाई भेटिसकेका मेरा मित्र डा. सूर्यराज आचार्यले ‘अब त तपाईंले उहाँलाई पनि भेट्नुपर्छ’ भनेपछि २६ साउन २०७३ सालमा हामी तीनजना बालुवाटारको एउटा रेस्टुराँमा बस्यौं । उपेन्द्रजीको आत्मविश्वास, ज्ञान, स्मरणशक्ति, दृढता र देशभक्तिबाट को प्रभावित नहोला ? म पनि नतमस्तक भएँ । उनले भेटको सुरुमा करिब १५ मिनेटजति आफ्ना स्कुलका सहपाठी डा. बाबुराम भट्टराईबारे धाराप्रवाह बोले।

त्यसपछि हामी वैकल्पिक राजनीतिको विषयमा प्रवेश गर्‍यौं । उनले अहिलेका पार्टीबाट कुनै पनि हालतमा यो देशको रूपान्तरण सम्भव नभएको बताउँदै वैकल्पिक पार्टीको अत्यावश्यकतामा जोड दिए । तर उनले अन्य कतिपय ठाउँमा बोले झैं ‘यो संविधान नच्याति हुँदैन’ भन्नचाहिँ छुटाएनन् । संविधानबारे उनको धारणासँग विमति राख्दै मैले भनें :

‘उपेन्द्रजी, तपाईंले जीवनमा सबै कुरा पाइसक्नुभयो । तपाईंले भविष्यको चिन्ता गर्नुपर्ने स्थिति पनि छैन । तपाईंमा वैकल्पिक राजनीतिप्रति यति दृढ लगाव छ । अब सबै छोडेर सँगै लागौं ।’ जवाफमा उनले मलाई दुईवटा कुरा भने । पहिलो- ‘म अझै केही उत्तराधिकारीहरू प्रशिक्षित गर्न चाहन्छु ।’ दोस्रो- ‘सामान्यतया शल्यचिकित्सकहरू ६५ वर्षको उमेरमा अवकाश लिन्छन् किनभने त्यसपछि शल्यक्रियाको काम गर्नु हुँदैन भन्ने मान्यता पनि छ, त्यसपछि म पूर्णकालीन राजनीतिमा होमिन्छु ।’

‘त्यसो हो भने अब दुई-तीन वर्ष मात्र बाँकी छ, अलि चाँडो अवकाश लिएर अहिले नै लाग्नुभयो भने त त्यसको धेरै राम्रो सन्देश जान्थ्यो नि ! मानिसहरूको तपाईंप्रति ठूलो आशा र विश्वास पनि छ’, मैले भनें । उनले भने, ‘होइन, अब दुई-तीन वर्षकै कुरा त हो।’

जीवनमा सबैका आआफ्नै योजना हुन्छन् । मनमनै मलाई उनले दुई-तीन वर्ष पर्खिने कुरा नगरिदिएको भए हुन्थ्यो भन्ने लागे पनि देशका लागि त्यति धेरै गरिसकेका व्यक्तिले बुनेको योजनासँग असहमति जनाउने ठाउँ थिएन । तर त्यो दुई-तीन वर्षमा उनको नयाँ यात्राले सुरुवात होइन, लम्बे यात्राले वि श्राम लियो । ‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो !’

एउटा समय थियो जतिबेला खाली पेट र खाली खुट्टा लिएर मानिसहरू देश बनाउन हिँडे । अब त्यो अपेक्षा गर्न हुँदैन र त्यसतर्फ मानिसलाई प्रेरित गर्न पनि हुँदैन ।

डा. देवकोटाले मृत्युशड्ढयामा उद्धरण गरेको गीताको हरफ पुन: उद्धरण गर्ने हो भने ‘जातस्य ही ध्रुवो मृत्यु…’ अर्थात् जन्मपछि मृत्यु निश्चित छ । तर मृत्यु यति अनिश्चित छ कि त्यो कुन रूपमा कतिबेला आउँछ भन्नै सकिँदैन । म यी शब्दहरू टाइप गर्दागर्दै या यो स्तम्भ प्रकाशित भएको हेर्न नपाउँदै खुत्रुक्कै हुन सक्छु । देवकोटाको देहावसान हुने समयतिर संयोगले म मृत्युको अनिश्चितताबारे ‘मृत्यु चेत’ शीर्षकमा एउटा कविता लेख्दै थिएँ । सो कविता अपूरै भए पनि त्यसको एक अनुच्छेद उद्धृत गर्न चाहें:

‘वर्षौं-वर्ष ओछ्यानमा थलिएको मृत्यु

वर्षौं-वर्ष किनेको सासमा बाँचेको मृत्यु

वर्षौं-वर्ष इतिहासले भतभत पोलेको मृत्यु

बाँच्छु भन्दाभन्दै भीरबाट खसेको मृत्यु

उड्दा-उड्दै आकाशबाट झरेको मृत्यु

जिउँदै आगोमा डडेर मरेको मृत्यु

शीतलहरमा कठ्यांग्रिएर जमेको मृत्यु

हाई-हाई हुँदाहुँदै हावाले उडाएको मृत्यु

कल्पनै नगरेको रोगले लगेको मृत्यु’

देवकोटालाई पनि सम्भवत: उनले कल्पनै नगरेको रोगले लिएर गयो । तर कवितामा मैले समेट्न खोजेको भाव झैं मेरो आफ्नै नजिकको परिवारमा अनि कयौं मित्रमाझ सोच्दै नसोचेको तरिकाले मृत्युहरू आएका छन् । मैले डा. देवकोटाले जस्तै सबै स्थिति अनुकूल हुँदाहुँदै पनि ‘केही वर्ष पर्खिउँ…यति मिलिहालोस् अनि यसो गर्छु’ भन्ने कतिपय व्यक्तिहरू भेटेको छु, जो त्यो समय नआउँदै अनायासै गए । आजको स्तम्भलाई सन्दर्भवश मैले अलि कवितात्मक नै बनाउन चाहें र त्यसै क्रममा मेरा एकजना नजिकको मित्रको एउटा अनौठो प्रकृतिको दुर्घटनामा मृत्यु भएपछि लेखेको र मेरो कविता संग्रह ‘रवीन्द्र मि श्रका कविता’ मा छापिएको एउटा कविताको अंश सम्झिएँ:

‘छोराछोरीलाई गाउँ घुमाउन ल्याउँछु भन्थ्यो

बुबाआमाले भनेको मन्दिर बनाउँछु भन्थ्यो

विचरा… गाउँको खुब चिन्ता गथ्र्यो

व्यापारका लागि समय अलि अनुकूल छैन

समय ठीक हुनेबित्तिकै सबै गरिहाल्छु भन्थ्यो

चौबीसै घन्टा खटिन्थ्यो, नाम पनि कमाएकै थियो

उसले त समयलाई पर्खियो, समयले उसलाई पर्खिएन

विचरा…मरिहाल्यो !’

लगभग शून्यबाट सुरु गरेर उदाहरणीय ढंगले व्यापार विस्तार गरिरहेका मेरा अत्यन्तै असल ती मित्रको मृत्यु मान्छेले कल्पनै नगर्ने किसिमको दुर्घटनाबाट होला भनेर कसैले पनि सोचेकै थिएन । तर भयो । म विदेशमा रहँदा एकजना प्रतिष्ठित डाक्टरले भनेका थिए : म ६० वर्षमा अवकाश लिन्छु अनि वर्षको ६ महिना नेपालमा बसेर परोपकारी काम गर्छु र वर्षको ६ महिनाचाहिँ यतै बिताउँछु । उनले त्यसो भनेको ३-४ वर्षपछि उनी पनि गए । मानिसहरू ‘तपाईंको प्रेरणाको स्रोत के हो ? ’ भनेर प्रश्न गर्‍यो भने सामान्यतया व्यक्ति, प्रकृति या कुनै घटनाको स्मरण गर्छन् । तर मृत्युबारे म जति बढी सोच्छु त्यति नै बढी ‘मृत्यु जीवनको सबभन्दा ठूलो प्रेरणाको स्रोत हो’ भन्ने निष्कर्षमा पुग्छु । किनभने त्यो कुनै पनि बेला, नरम या क्रूर, कुनै पनि रूपमा आउन सक्छ । म कुनै पनि बेला शून्यमा बिलाउन सक्छु भन्ने मृत्यु चेतले मान्छेलाई असल बन्न र असल काम गर्न प्रेरित गर्छ भन्ने मेरो विश्वास हो । तर सामान्यतया मान्छेलाई मृत्यु चेतले भन्दा जीवनका लालसाले धेरै गाँजेको हुँदोरहेछ, जसको मृत्युसामु कुनै अर्थै छैन ।

‘मृत्युको अगाडि कीर्तिको लोभ

मृत्युको अगाडि अर्थको लोभ

मृत्युको अगाडि शक्तिको लोभ

मान्छेलाई यस्तो बनाइयो

या, मान्छे आफैं यस्तो बन्यो ?

मान्छेमा मृत्यु चेत

किन यति कमजोर भयो ? ’

डा देवकोटको ज्ञान र अध्यात्मको दायरा हेर्दा उनी पूर्णत: मृत्यु चेत भएका व्यक्ति थिए । तर पनि उनले वैकल्पिक राजनीतिक यात्रा सुरु गर्न केही वर्ष पर्खिन चाहे । उनीप्रति श्रद्धा-सुमन अर्पण गर्दै आज मलाई लाग्छ, यदि उनी पनि हामी हिँड्न लागेको यात्रामा हिँडिदिएको भए सम्भवत: हामी अहिले जुन अवस्थामा छौं, त्योभन्दा बलियो अवस्थामा हुने थियौं । किनभने जति बढी उनीजस्ता व्यक्तिहरू एक ठाउँमा आयो, त्यति नै बढी त्यसले प्रेरणा र शक्ति सिर्जना गर्ने सामथ्र्य राख्थ्यो । तर उनी सहयात्रामा सामेल नभए पनि जीवनको अन्तिम घडीसम्म उनलाई हाम्रोबारेमा चासो थियो । मैले उनलाई अस्पतालमा भेट्न जाँदा दिउँसो गएको थिएँ र हामी धेरै मान्छे थियौं ।

त्यसैले कुरा हुन सकेन, तर मभन्दा केही दिनअघि बिहानै भेट्न गएका मेरा सहकर्मी नेता डा. सूर्यराज आचार्यसँग उनले वर्तमानका राजनीतिक नेता र दलहरूप्रति निराशा अनि हाम्रो अभियानप्रति ठूलो आशा र भरोसा व्यक्त गरेका थिए । हाम्रो प्रारम्भिक यात्रामा उनी हुनु र नहुनुले ठूलो अन्तर पार्न सक्थ्यो- पार्‍यो । तर मृत्युको विडम्बना नै यस्तो छ कि त्यसमा परिवर्तनका कुनै रेखा कोर्न सकिँदैन ।

एक वर्षभन्दा केहीअघि राजनीतिक यात्रा सुरु गरेपछि मैले यो देशले पत्याएका कैयौं व्यक्तित्वहरू भेटेको छु, जसले ‘अब दुई÷तीन वर्षको मात्र कुरा हो अनि त पूरै लाग्ने हो’ अथवा ‘तपाईंहरू हिँडेकै बाटोमा हिँड्ने हो, अस्तिको चुनावमा भोट पनि तपाईंहरूलाई नै दिएको हो तर ‘यति काम’ पूरा गरिहालौं त्यसपछि मजाले लाग्ने हो’ भन्ने गरेका छन् । उनीहरूले भन्ने गरेको त्यो दुई÷तीन वर्ष या ‘त्यति काम’ कति महत्वपूर्ण हो या जिन्दगीको यात्रामा त्यो कति अभिभाज्य हो भन्ने उनीहरूलाई नै बोध हुने कुरा हो । किनभने हरेकका परिस्थिति, योजना र व्यक्तिगत आकांक्षा आआफ्नै हुन्छन् । बाहिरबाट त्यसको मूल्यांकन गरेर दृष्टिकोण बनाउन कठिन हुन्छ । तर एउटा वास्तविकता के हो भने जीवनको हरेक पाइला सम्झौता हो ।

व्यक्तिगत आकांक्षाहरूको सीमा आफैं निर्धारण गर्ने विषय हो । एउटा समय थियो, जतिबेला खाली पेट र खाली खुट्टा लिएर मानिसहरू देश बनाउन हिँडे । अब त्यो अपेक्षा गर्न हुँदैन र त्यसतर्फ मानिसलाई प्रेरित गर्न पनि हुँदैन । तर फेरि पनि देश त बनेको छैन र देश बनाउनैपर्छ । देश बनेन भने व्यक्तिले पाउँछ तर देशले पाउँदैन । परिणाम के हुन्छ भने बुबा या आमाले आफूले पाएको नाम र दामबारे अव्यक्त रूपमा गर्व गरिरहँदा तिनैका छोराछोरी, नातिनातिना विषादीयुक्त तरकारी खान, प्रदूषित हावामा सास फेर्न, आपत्कालीन स्थितिमा भर पर्न नसकिन अस्पताल जान, कुरूप सहरमा बस्न र सकिन्छ भने देशै छोडेर जान अनि नफर्किन बाध्य हुन्छन् ।

तसर्थ देशले पत्याएका र वैकल्पिक राजनीतिक यात्राबाट मात्र यो देशको रूपान्तरण सम्भव छ भन्नेमा विश्वस्त रहेका त्यस्ता व्यक्तित्वहरूले अब दुई÷तीन वर्ष या ‘त्यति काम’ पूरा गर्न पर्खिने कि नपर्खिने ? आम सर्वसाधारणले आफ्नो मन र मत परिवर्तन गर्ने कि नगर्ने ? डा. देवकोटाको राजनीतिक चासोका कारण मैले प्रसंगलाई राजनीतिसँग जोडेको हुँ तर जीवनको एउटा विन्दुमा पुगेपछि जीवनका हरेक लक्ष्यहरूसँग यिनै प्रश्न जोडिएका हुन्छन् या जोड्नैपर्छ । परिस्थतिपूर्ण या व्यवस्थापन गर्न सकिने रूपमा अनुकूल छ भने देश बनाउन भोलिका लागि पर्खिंदै नपर्खूं, अन्यथा कसलाई के थाहा कतिबेला आउँछ, टप्प टिप्छ, लैजान्छ, टारेर टर्दैन त्यो । पश्चात्ताप गर्ने समय पनि छोडेर जाँदैन त्यो ।

-बीबीसी नेपाली सेवाका पूर्व प्रमुख मिश्र विवेकशील साझा पार्टीका संयोजक हुन् ।-अन्नपूर्णपोष्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी