काठमाडौं, १४ असार ।
स्विट्जरल्याण्ड समूह ई को उपविजेता बन्दै नकआउट चरण पुगेको छ। बुधबार भएको खेलमा कोस्टारिकासँग दुई दुईको बराबरीमा रोकिएपछि स्विट्जरल्याण्ड समूहमा उपविजेता बन्यो । यो समूहको विजेता भने ब्राजिल बनेको छ।
बुधबार कोस्टारिकासँग भएको खेलमा सुरुवाती अग्रता भने स्विट्जरल्याण्डले बनाएको थियो। स्विट्जरल्याण्डकालागि खेलको ३१ औं मिनेटमा ब्लेरिम डिजेमिलीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। ब्रिल इम्बोलोको पासमा ब्लेरिमले पोष्ट नजिकैबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।
ब्लेरिमको गोलसँगै पहिलो हाफमा एक गोलको अग्रता बनाएको स्विट्जरलयाण्ड दोस्रो हाफको ५६ औं मिनेटमा बराबरी गोल खान पुग्यो। कोस्टारिकाका केन्डल वास्टनले जोएल क्याम्पवेलको पासमा डि बक्सभित्रबाट गरेको हेडिङ् गोलमा परिणत हुन पुग्यो।
आफ्नो अन्तिम खेल स्विट्जरल्याण्डसँग खेल्नुअघिनै कोस्टारिका प्रतियोगिताको समूह चरणबाटै वाहिरिसकेको थियो ।
नकआउटमा स्विट्जरल्याण्ड स्विडेनसँग खेल्नेछ।
यसैबीच , समूह एफ अन्तर्गत भएको समूह चरणको अन्तिम खेलमा मेक्सिकोलाई पराजित गर्दै स्विडेन समुह विजेत बनेको छ। समूह विजेत बनेको स्विडेन र पराजित भएको मेक्सिको दुवै नकआउट चरण प्रवेस गरेका छन्।
स्विडेनले मेक्सिकोलाई तिन शुन्य गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपनि दोश्रो हाफको खेलमा मेक्सिको तिन गोल खान पुग्यो।
स्विडेनकालागि पहिलो गोल खेलको ५० औं मिनेटमा लुडविग अगस्टिनसनले गरे। उनले भिक्टर क्लेसनको पासलाई सदुपयोग गर्दै गोलपोष्ट नजिकैबाट गोल गरे। एक गोलको अग्रता बनाएको स्विडेनले खेलको ६२ औं मिनेटमा अग्रतालाई दोब्बर बनायो। मेक्सिकोका हेक्टर मोरेनोले स्विडेनका मार्कस वर्गलाई डि बक्स एरियामा लडाएपछि पाएको पेनाल्टीमा स्विडेनका एन्ड्रियस ग्रयानभिस्टले गोल गरे।
दुई शुन्यले पछि परेको मेक्सिकोे खेलको ७४ औं मिनेटमा आफ्नै गल्तिले अर्को गोल खान पुग्यो।
बुधबारको खेलमा पराजित भएपनि यो समूहकै अर्को खेलमा पूर्व विश्वविजेता जर्मनी दक्षिण कोरियासँग दुई शुन्य गोलले पराजित भएपछि मेक्सिको शिर्ष १६ मा स्थान बनाउन सफल भयो।
यो समूहबाट मेक्सिको र स्विडेन शिर्ष १६ मा प्रवेस गरेका छन् भने जर्मनी र दक्षिण कोरिया समूह चरणबाटै वाहिरिएका छन्।