काठमाण्डौ, १४ असार ।
रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आज पहिलो चरणका अन्तिम खेलहरु हुँदैछन् ।
३२ राष्ट्रको सहभागिता रहेको विश्वकपमा अहिलेसम्म १४ टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन्।
प्रतियोगितामा समूह ‘ए’ बाट उरुग्वे र रूस, समूह ‘बी’ बाट स्पेन र पोर्चुगल, समूह ‘सी’ बाट फ्रान्स र डेनमार्क, समूह ‘डी’ बाट क्रोएसिया र अर्जे्न्टिना, समूह ‘इ’ बाट ब्राजिल र स्विट्जरल्याण्ड, समूह ‘एफ’ बाट स्विडेन र मेक्सिको र समूह ‘जी’ बाट इङल्याण्ड र बेल्जियम नकआउट चरणमा प्रवेश गरिसकेका छन् । बाँकी २ टोलीको टुंगो आज लाग्नेछ।
आज हुने समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गतको पहिलो खेलमा समूह एच मा रहेका कोलम्बिया र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ । खेल समारा एरिना रंगशालामा नेपाली समयअनुसार बेलुका पौने ८ बजे बाट सुरु हुनेछ।
कोलम्बियाले अघिल्ला दुई खेलमध्ये एकमा हार र एकमा जित निकाल्दै समूहको तेस्रो स्थानमा छ । भने दुईमध्ये एकमा जित र एकमा बराबरी गरेको सेनेगलले दोस्रो स्थानमा छ।
अन्तिम १६ मा प्रवेश गर्न दुवै टोलीका लागि आज तित्नैपर्ने हुन्छ ।
आजै हुने दोस्रो खेलमा समुह एच कै जापान र पोल्याण्ड भिड्नेछन्। राति पौने ८ बजे नै हुने उक्त खेल भोल्गोग्राड एरिना रंगशालामा हुनेछ। अघिल्लो चरणमा स्थान बनाउन जापानलाई पनि जित्नैपर्ने दबाब छ।
त्यस्तै कालिनिन्गोरोड रंगशालामा हुने अर्को खेलमा राती पौने १२ मा समूह जी का इङ्ल्याण्ड र बेल्जियम आमने सामने हुनेछन्।
दुवै टोली विश्वकपको अन्तिम १६ मा यसअघिनै प्रवेश गरिसकेका छन्। दुवै टोलीको समान ६–६ अंक भएपनि गोलअन्तरका आधारमा इङल्याण्ड शीर्ष स्थानमा छ। यो खेलपछि समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ।
सोहि समयमा मोर्डो्भिया एरिना रंगशालामा हुने अर्को खेलमा पानामा र ट्युनिसिया खेल्दैछन्। प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोली सान्तवता जितको खोजिमा रहनेछन्।