काठमाण्डौ, १४ असार ।
उपाधि दाबेदार टोली ब्राजिल समूह ‘इ’ को विजेता बन्दै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
मस्कोको स्पार्टक रंगशालामा बुधबार राती सम्पन्न खेलमा सर्बियालाई २–० ले पराजित गर्दै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो।
पराजित सर्बिया भने प्रतियोगिताबाट बाहिरिएको छ। ब्राजिलको जितमा पाउलिन्हो र थियागो सिल्भाले एक–एक गोल गरे। ब्राजिलले पहिलो हाफको ३६ औं मिनेटमा पाउलिन्होको गोलमा अग्रता लिएको थियो। फिलिपे कौटिन्होको पासमा पाउलिन्होले तीन डिफेन्डरको बीचबाट सुन्दर गोल गरेका थिए।
पहिलो हाफमा एक गोलले अग्रता बनाएको ब्राजिलले दोस्रो हाफको ६८ औं मिनेटमा नेइमारले प्रहार गरेका कर्नर बलमा थियागो सिल्भाको हेड गोल मार्फत अग्रता दोब्बर बनाए।
त्यसपछि निर्धा्रित र इन्जुरी समयमा दुवै टोलीले गोल गर्न नसकेपछि ब्राजिल विजेता बन्र्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो। खेलअवधिभर सर्बियालाई दबाबमा राखेपनि ब्राजिलले अन्य गोल भने गर्न सकेन्। सर्बियाले पनि पाएका केहि सुनौला अवसरलाई पोस्टको दिशा दिन सकेन।
समूह ‘इ’मा ब्राजिलले ७, स्विट्जरल्यान्डले ५, सर्बियाले ३ र कोस्टारिकाले १ अंक जाडे। समूह ‘इ’ बाट ब्राजिल विजेता बन्दा स्विट्जरल्याण्ड उपविजेता बनेको छ।
ब्राजिलले अब प्रि क्वाटरफाइनलमा समूह ‘एफ’ को उपविजेता मेक्सिकोको सामना गर्नेछ। स्विट्जरल्याण्डले भने स्विडेनलाई प्रतिद्धन्दी पाएको छ।
उपाधिको मुख्य दाबेदारका रूपमा रूस पुगेको ब्राजिलले पहिलो दुई खेलमा एक जित र एक बराबरी नतिजा निकाल्दै अगाडि बढ्ने सम्भावना कायम राखेको थियो। पाँच पटकको विश्वविजेता ब्राजिलले सोचे अनुसारको प्रदर्शन भने गर्न सकेको छैन।
ब्राजिललाई अन्तिम १६ मा स्थान पक्का गर्न बराबरीको नतिजा पर्याप्त थियो भने सर्बियालाई ब्राजिलविरुद्ध जित आवश्यक थियो।