काठमाण्डौ, १२ असार ।
दुई पटकको विश्वकप विजेता अर्जेन्टिनालाई रसिया यात्रा सुरु हुनु पूर्व उपाधि दावेदार मानिएको थियो तर नवप्रवेशी आईसल्याण्डसँग बराबरीमा रोकिनु र क्रोएसियासँग लज्जास्पद हार व्यहोर्नुले आलोचित बनाएको छ ।
त्यसैले उसलाई मंगलबार (आज) राति ११ः४५ मा हुने समूह चरणको अन्तिम खेल जित्नैपर्ने दबाब छ । नत्र उसको विश्वकप यात्रा र मेसीको सपना यहीबाट तुहिने छ ।
फुटवल स्टार डिएगो म्याराडोनाले प्रशिक्षकलाई दोष दिदै खेलाडिको प्रशंसा गरेका छन् । गर या मरको अवस्थामा मैदान उत्रदै गर्दा अर्जेन्टिनाको प्लेईङ सेट क्याप्टेन लियोनेल मेसीले तय गर्नेछन् ।
मैदानमा लय मिलाउने एन्जल डिमारियालाई प्रशिक्षकले प्लेईङ सेटमा नउतार्नुले पनि अर्जेन्टिनाले लय समाउन नसकेको खेल पण्डितहरुको बिश्लेषण छ । नाईजेरियालाई अघिल्लोचरण प्रवेशका लागि बराबरी मात्र काफी छ ।
फिफा वरियताको ५ औं स्थानमा रहेको अर्जेन्टिनाको भाग्य क्रोएसिया र आईसल्याण्डबीचको खेलको नतिजाले पनि निर्धारण गर्नेछ ।
अर्जेन्टिनासँगको विगत भने नाइजेरियाको सुखद छैन । यसअघिका खेलमा ऊ अर्जेन्टिनासँग लगातार पराजित हुँदै आएको छ ।
यसअघिका विश्वकपमा दक्षिण अमेरिकी र अफ्रिकन मुलुकबीच चार पटक भेट भएको थियो जसमा चारै खेल नाइजेरियाले गुमाएको छ । रसिया विश्वकपमा अघिल्लो चरण प्रवेशका लागि बलले पोष्टको दिशा लिदै गर्दा कोरिने रेखाले दुवैको भाग्य निर्धारण हुने भएकाले सेन्टपिटर्सवर्ग रंगशालामा हुने खेलमा दुवै राष्ट्र साम दाम दण्ड भेद सवै अपनाउन तयार हुनेछन् ।