काठमाण्डौ, ९ असार ।
रुसमा जारि विश्वकप फुटवलमा आज पनि तीन खेल हुँदैछ । पहिलो खेलमा समूह ‘जी’को अन्तरगत बेल्जियम र ट्युनिसिया भिड्नेछन् ।
यी दुई टोलीबीचको खेल मस्कोको स्पार्टाक एरिनामा नेपाली समय अनुसार आज साँझ पौने ६ बजे सुरु हुनेछ ।
बेल्जियमले आफ्नो पहिलो खेलमा पानामालाई ३–० ले हराएको थियो भने ट्युनिसियाले इंग्ल्याण्डसँग २–१ को हार बेहोरेको थियो ।
समुहको दोस्रो खेलमा आज ट्युनिसियालाई पराजित गरे बेल्जियमको लगातार दोस्रो जितका साथ अन्तिम १६ मा प्रवेशको सम्भावना बलियो हुनेछ ।
बेल्जियमले विश्वकपमा अहिलेसम्म अफ्रिकन राष्ट्रबाट हारको सामना गरेको छैन भने ट्युनीसियाले कुनै पनि युरोपियन राष्ट्रमाथि जित हात पारेको छैन ।
आजै बेलुकी पौने ९ बजे दक्षिण कोरिया र मेक्सिको भिड्नेछन् । पहिलो खेलमा मेक्सिकोले जर्मनीलाई १–० ले हराउँदा दक्षिण कोरियालाई स्वीडेनले १–० ले पराजित गरेको थियो ।
यही समूहको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनी र स्वीडेन आमने–सामने हुँदैछन् । खेल सोचीस्थित ओलम्पिक रंगशालामा नेपाली समय अनुसार आज राति पौने १२ बजे हुनेछ ।
पहिलो खेलमा मेक्सिकोसँग पराजित जर्मनी आज जित्नैपर्ने दबाबमा छ ।
यदि आज स्वीडेनसँग पराजित भएमा जर्मनीको उपाधि रक्षाको बाटो समुहगत चरणमा नै रोकिने पक्का छ ।
मेक्सिकोले जर्मनिसँग तीन अंक खोस्दा स्विडेनले एसियाली टोली दक्षिण कोरियालाई पराजित गरेको थियो । त्यसैले जर्मनीलाई स्विेडनविरुद्ध बराबरी नतिजासमेत अघिल्लो चरण प्रवेशका लागि अपर्याप्त हुन सक्छ ।
उता पहिलो खेलमा कोरियालाई हराएको स्वीडेन भने आज साविक विजेता जर्मनीलाई कुनै पनि हालतमा रोक्ने प्रयासमा हुनेछ ।