मस्को, असार ८ ।
रुसमा जारी विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनाको यात्रा कठिन बनेको छ । समूहको दोस्रो खेलमा क्रोएसियासँग ३–० ले पराजित भएसँगै उपाधि दावेदार मानिएको लेटिन अमेरीकी टोली अर्जेन्टिना बाहिरिने संघारमा पुगेको छ ।
अन्तिम खेलमा अर्जे्न्टिनाले आगामी मंगलबार नाईजेरियासँग खेल्नेछ । लियोनल मेस्सीको टोली जारी विश्वकपमा पहिलो जितको खोजीमा छ ।
यसअघि समूहको पहिलो चरणको खेलमा अर्जे्न्टिनालाई आईसल्याण्डले १÷१ गोलको बराबरीमा रोकेको थियो ।
उता अर्जे्न्टिनालाई हराउँदै क्रोएसिया भने अन्तिम १६ मा पुग्यो । पहिलो खेलमा नाईजेरियालाई हराएको क्रोएसिया रुसमा लगातार दोस्रो जित हात पार्दै नक आउट चरणमा प्रवेश गरेको हो ।
निझ्नी नोभ्गोरोद रंगशालामा अर्जेन्टाइनी गोलकिपर विली काबालेरोको गल्तीको फाईदा उठाउँदै क्रोएसियाका एन्टे रेविकले ५३ औं मिनेटमा पहिलो गोल गरे ।
८० मिनेटमा लुका मोड्रिचले एक गोल थप्दै क्रोएसियाको अग्रता दोब्बर पारे । ईन्जुरी समयमा ईभाँ राकिटिचले अर्को गोल थप्दै क्रोएसियालाई ३–० ले विजयी गराए ।