कविता -‘रन्डी’

कविता -‘रन्डी’

  • आइतवार, असार ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 30.9K
    SHARES

माफ गर्नुहोला पाठक वृन्द !
आज मैले अन्यथा कविता लेखेकी छु
आज मैले अप्रिय शब्द ओकलेकी छु
आज मैले आफूले आफैँलाई
गाली पनि गरेकी छु ।

युगौँयुगदेखि
रन्डी बनाउने रन्डोरुपी
पितृसत्ताका कलङ्कहरु
रन्डी फलाउने रन्डाहरु
सँधै पर्दा पछाडी छन् ।

जसरी रन्डाहरुले
आफ्नो प्रयोग सकिएपछि
रन्डीसँग
भोग्नु आनन्द भोगिसकेपछि
एउटी कुमारी कन्यालाई पनि
अलिकति सङ्कोच पनि नमानी
रन्डीमा रुपान्तरित गरिदिन्छन्
र त्यसपछि तिनै
नकच्चरा, निर्लज्ज र स्वार्थीहरु
शिर उठाएर
आवाज उचालेर
अर्थात्
तिनै रन्डीका निर्माता रन्डाहरु नै
गौरवका साथ, मुख मिठ्याउँदै
आफ्नै आमा, दिदी, बहिनी
र छोरीलाई नै साक्षी राखेर
‘रन्डी’ घोषणा गर्छन् !

पाठकवृन्द !
आज म पनि त्यस्तै भएकी छु
र प्रयोग गरेर ‘रन्डी’
आनन्द मनाउने म उपक्रममा छु ।

समय र युगले
निर्घात पिटिएका रन्डीहरुलाई नै
मैले पनि यसबेला
जगल्टामा समातेर घिसार्दै घिसार्दै
मूल सडकमा ल्याएकी छु ।

मलाई माफ गर्नुस्
यस धराका सारा आमाहरु !
मलाई माफ गर
आगामी पुस्तापुस्ताका
मेरा छोरी र नातिनीहरु !
म यस बेला युगले
मलाई नै गाली गरेको शब्द
सापटी मागेर युगसँगै
‘रन्डी’ प्रयोग गरिरहेछु ।

विन्ति छ !
म यही एउटा कविताका लागि मात्र
यो तुच्छ शब्दलाई नै
फगत् एक पटकका लागि मात्र
महान् बनाएर
मेरो काव्य संसारमा
स्वागत गर्दैछु
र पीडाको चास्नीमा चोपलिएकी
‘रन्डी’लाई
वेदनाको खट्मिट्ठीले सिँगारेर
पस्किने क्रममा छु ।

ए ! कसैले नविथोली देऊ
म यसबेला रन्डीगान गर्दैछु ।

पाठकवृन्द !
मेरो यस कविताको शीर्षक
‘रन्डी’ हो ! ‘रन्डी ‘!

मेरो कविता यसरी शुरु हुन्छ;

अर्थात् त्यो शहरभरि
रन्डी नै रन्डी
ऊ रन्डी, त्यो रन्डी
यिनीहरु रन्डी, तिनीहरु रन्डी
जताततै रन्डी नै रन्डी
झुण्डका झुण्ड रन्डी
कुण्डका कुण्ड रन्डी
हूलका हूल रन्डी !

सती सावित्रीहरु यस शहरमा
खोई कतै छन् पनि कि !
नत्र बजारमा रन्डी
हजारमा रन्डी
रण्डी नै रन्डी
जताततै रन्डी !

नाटक झैँ यहाँ पनि एकैछिन्
पटाक्षेप भएको छ ।

त्यसै बेला कसैले बोले झैँ लाग्यो
हो कोही बोलिरहेकै थियो
एउटा बुलन्द र निकै ओजश्वी आवाज
वातावरण भरि घन्किएको थियो-
”म अब यस शहरबाट
रन्डी उन्मुलन गर्नेछु
अब म यस शहरको नियति फेर्नेछु
यस शहरलाई पनि म पवित्र बनाउनेछु
अब यहाँ रन्डीबाजी गर्न दिइने छैन
सावधान रन्डीहरु !

यो शहर अब
सती सावित्रीहरुको हुने छ
यहाँ रन्डीबाजी गर्न मनाही छ
नत्र रन्डी जतिलाई कारावास दिइने छ
रन्डीहरु खोजीखोजी
शहर निकाला गरिनेछ
प्राणदण्ड पनि दिन सकिने छ
अथवा आजीवन कारावास पक्कै हुने छ
होशियार रन्डीहरु !
खबरदार रन्डीहरु !

सुन रन्डीहरु !
अब शहर
रन्डीबिहीन हुने छ
यो शहर पनि पवित्र हुनेछ ।”

आवाज बोल्नका लागिमात्र
बोलेको थिएन
आवाज घन्कनुको जागीरजस्तो
घन्केको मात्र थिएन
आवाज त आफ्ना कार्य योजनामा
धुमधाम लागिपरेको थियो
ज्यानको बाजी थापेरै समर्पित थियो
त्यसैले त्यस शहरमा
अब रन्डीको दिन सकिएको थियो
त्यसवीच कतिपय रन्डीहरू नै पनि
त्यस शहरबाट
शिर निहुर्याउँदै गायब हुने
अथवा आफ्ना कोठीहरू नै
मन्दिरमा रूपान्तरण गर्ने
पूर्व तयारीमा देखिन्थे ।

शहरका सती सावित्रीहरू भने
कलात्मक झ्यालका खापाबाट
रमाएर चिहाउँदै
रविदर्शनमा लागेका थिए
निश्चिन्त हुँदै, निर्धक्क हुँदै
ब्रह्ममुहुर्तमै निर्भयताका साथ
सती सावित्रीहरू क्रमशः
भस्त्रिका, अनुलोम विलोम
र कपालभाँती गर्दै
ध्यानसमेत गर्न थालेका थिए ।

अलिकति मात्र समय के भिड्केको थियो
रन्डीको त्यो शहर भने
भुसको आगो सल्केर भित्रभित्रै
प्रचण्ड ज्वाला भइसकेको थियो
शहरका मात्र होइन
शहर बाहिरका पनि
टाढा धेरै टाढा सुदुरसम्मका
रन्डीहरु पनि एकजुट हुँदै थिए
त्यसैले
रन्डीहरुले वैठक गरे
सभा गरे, सम्मेलन गरे
सेता, काला, नीला, राता र पहेंला
र रङ विरङका रन्डीहरु
कहिल्यै एकअर्काको
मुखसमेत नहेर्ने रन्डीहरु
एकअर्काको डाहा र आरिसमा
आफूआफैँसँग युद्ध गर्ने रन्डीहरु
र एकअर्कालाई
मर्न र मार्न समेत तयार रन्डीहरु
आफ्नो अस्तित्वै नासिने डरले
एकअर्कासँग ट्याप्पै टाँसिए
कहिल्यै नछुटि्टने भाखामा
आफ्नी मालिक्नी
अर्थात्
सर्वोच्च रन्डीसँग समेत
गुहार मागेरै पनि
एकअर्कासँग गाँसिए ।

कान कानमा मुख जोतेर
रन्डीहरूले मन्त्रणा गरे
रन्डीबाजी बिना बाँच्नै नसक्ने
रन्डीहरु प्राणकै बाजीमा
एकमुख भए
रातारात एक भए ।

अनि त्यसपछि
शहरका ख्यातिप्राप्त
घरानीया कोठीकोठीका
रन्डीहरु नै मशाल बोकेर
जुलुशजुलुश भए
काेही अनसनै पनि बसे
र क्रान्तिक्रान्तिमा लागे
‘हो अब यस शहरमा
रन्डीबाजी हुन दिइने छैन’
नगरबधुमै नाउँ चलेका रन्डी नै
रन्डीका विरुद्ध नारा लगाइरहेथे
‘रन्डीबाजी मुर्दावाद !’
‘सती सावित्री जिन्दावाद !’
घाँटीका नसा चुँडिने गरी
रन्डी कोठीका नाइके रन्डीहरु नै
चिच्याइरहेथे कङ्कलाशब्द गरेर
एकनास चिच्याइरहेथे ।

‘छैन भनेपछि छैन’
‘हाम्रो यस पवित्र शहरमा
रन्डीका लागि कुनै स्थान छैन’
रन्डीबाजीकै पैसाले बनाइएका
प्ले कार्ड र ब्यानर बाेकेका
रन्डी र स‌‍म्भावित रन्डीहरुसमेत
हाैसिँदै चिच्याउँदै थिए
‘रन्डीबाजी मुर्दावाद !
सती सावित्री जिन्दावाद’ !

सती सावित्री झैँ देखिने
सुघ्घर पोशाक पहिरिएका
जुलुशका जुलुश
र हूलका हूल रन्डीहरु
उज्याला एकदम उज्याला
बनावटी रङ्हरुमा
रन्डी विरोधी
रन्डी निषेधी
त्यही साहसी बुलन्द आवाज
उन्मुलनमा लागे
सत्याग्रहको भाखामा गीत गाउँदै
रन्डीहरू सेतो आवाजलाई
एकोहोरो लखेट्न थाले।

कालान्तरमा
च्याप्पै समातेर
एक्लो पारेर
सेतो आवाजलाई
“दोषी” हो; यही मात्र दोषी हो !
गन्हाएका, सिफलिस र गनाेरिया
अझ एड्ससमेत भइसकेका
रन्डीहरुको समूह नै लागेर
जताततैबाट घेराबन्दी गरेर
रन्डी नियोजनमा लागिपरेको
स्निग्ध आवाजलाई नै
कैलो, मैलो र थोत्रो पार्दै गए
महाभारतबाट व्युँताएर अभिमन्युलाई
पुनः चरम बेइमानीकाे इतिहास रचे रन्डीले
बबुरो पारेर कञ्चनकायालाई
कठघरामा ल्याएर
जालैजाल र महाअभियोगको
पासोसमेत थापेर
रन्डीहरुको जमातले
सक्कली आवाजलाई नै
रन्डीहरुको खास
नाइके सावित गरिछाडे
र उज्यालोलाई सजाय गरेर
सती सावित्रीको अवशेषै नासेपछि
कुख्यात रन्डीहरुले
अन्धकारसँग मीत लाउँदै
विजयगानका साथ विजयोत्सव गर्दै
निर्धक्क भएर
रण्डी युगको सुत्रपात गरे ।

सत्यसत्य, धरोधर्म
सेताे अावाजलाइ पराजित पारेपछि
यसरी त्यो शहर अब
रन्डीको मात्र शहर भयो
रन्डीहरूको मात्र घर भयो ।

पाठकवृन्द !
मेरो कविता त सकिएको छ ।
तर तत्पश्चात
रातारात सती सावित्रीहरु
त्यस शहरबाट
पलायन भएका छन्
आत्मबल नभएका
स्वाभिमानी सतीहरूले
आत्महत्या गरेको
समाचार पनि आइरहेथ्यो
हो रन्डी विरोधी
साहसी सती सावित्रीहरु
अब त्यस शहरका
वासिन्दा हुन छोडेका छन् ।

रन्डीराजको त्यस शहरमा
अब रन्डीहरु मात्र त्यहाँ मौलाउने छन्
मलाई थाहा छैन
यो शहरको दुर्भाग्य हो ?
अथवा रन्डीहरुको सौभाग्य ?

अविच्छिन्न रन्डीयुग चलाउने
रन्डीहरुको नियतले
सुवर्ण रन्डी युगको थालनी गरेको छ
भन्न सक्तिन म कहिलेसम्मलाई हो
यो शहरलाई अन्धकारले छोपेको छ
रन्डीहरुकै हूलले
त्यस शहरलाई भने
ढपक्कै ढाकेको छ।

यसबेला म
गान्धारीसँग पैँचो मागेको
आँखाको पट्टि अाँखामा
कस्सेर बाँधेर पनि
देखिरहेँछु, देख्दैछु
पर्दा बाहिर मात्र हाेइन
पर्दाभित्रका रन्डीजन्य
कुत्सित खेल पनि
देखिरहेछु, देख्दैछु
त्यसैले पनि यसबेला म
थाकेकी छु गलेकी छु
तर पनि उही युग परिवर्तनकारी
निख्खर सेतो र बुलन्द आवाजको
निसन्देह आगमनको
तिब्र प्रतीक्षामा बसेकी छु
त्यसपछि स्वयम् रन्डीहरूले नै
सामूहिक आत्मदाह गरेको समाचार
अथवा धारिलो बञ्चरै सहितको
मलाई परशुराम अवतार चाहिन्छ
किनभने मलाई त्यो शहर
हरेक शर्त रन्डी रहित चाहिन्छ, चाहिन्छ
रन्डी रहित चाहिन्छ !

© इन्दिरा प्रसाई/महिला खबरबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी