२५ जेठ, काठमाडौं । कक्षा ११ र १२ बाट गणित विषय हटाइएपछि बिराेध सुरूभएकाे छ ।सरोकारवालाले गणितले तार्किक क्षमता वृद्धि गर्ने भएकाले उक्त विषयलाई पाठ्यक्रमबाट हटाइँदा अरु विषयहरुलाई पनि असर पर्ने भन्दै बिराेध गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले कक्षा ११ र १२ मा सबै समूहका विद्यार्थीहरुले अध्ययन गर्न पाउने गरी प्रस्ताव गरिएको प्रायोगिक गणित विषय हटाउने प्रस्तावसहितको मस्यौदा तयार पारेको छ । सो मस्यौदामा यसअघिको अनिवार्य गणितलाई ऐच्छिक बनाइएको छ । वायोलोजी र गणितलाई एउटै समूहभित्र राखेर कुनै एउटामात्र रोज्न पाउने व्यस्था गरिएको छ । गणित र बायोलाजी दुवै पढ्न चाहने विद्यार्थीहरुले एउटामात्र विषय रोज्नुपर्ने छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभागका प्रमुख प्रा. डा. केदारनाथ उप्रेतीले विश्वमा गणितलाई महत्व दिइए पनि नेपालमा नदिइनु दुर्भाग्य भएको बताउनुभयाे ।
गणित समाजका अध्यक्ष प्रा. डा. टंकनाथ धमलाले यसबाट कक्षा ११ र १२ करिब पाँच लाख विद्यार्थीहरुलाई ठूलो अन्याय हुने र विज्ञान तथा प्रविधिको विकासमा आघात पुग्ने बताउनु भयाे ।
त्रिभुवन विश्वविद्यालयका कृषि तथा वन विज्ञान, कम्प्युटर विज्ञान जस्ता विषयहरुमा प्रवेश पाउन कम्तिमा क्रमशः ५० र १०० पूर्णाङ्कको गणित अनिवार्य रुपमा पास गरेको हुनु पर्दछ । कृषि तथा वन विज्ञान कार्यक्रममा भर्ना हुन आउने विद्यार्थी नै जीव विज्ञान (बायोलोजी) समुहका हुन्छन् ।
पोखरा, काठमाडौं, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयहरुमा इन्जिनियरिङ तथा सूचना प्रविधि कार्यक्रमहरुमा प्रवेश पाउन कम्तिमा १०० पूर्णाङ्कको गणित उत्तीर्ण गरेको हुनुपर्ने प्रस्ट व्यवस्था छ । यो व्यवस्थाले गर्दा जीव विज्ञान समूहका विद्यार्थीहरुले उक्त विश्वविद्यालयहरुमा माथि उल्लेखित कार्यक्रमहरु अध्ययन गर्न पाउने छैनन् ।
साथै व्यवस्थापन विषय समूहका विद्यार्थीहरुले अर्थशास्त्र र वाणिज्य गणित मध्ये एकमात्र रोज्नु पर्ने बाध्यता छ । यी दुवै विषय उक्त समूहका विद्यार्थीहरुका लागि नभै हुँदैन ।
यसैगरी त्रिभुवन विश्वविद्यालयको बीएससी (सीएसआईटी) मा प्रवेश पाउने ५० प्र्रतिशत भन्दा बढी विद्यार्थीहरु जीव विज्ञान अन्तर्गत १०० पूर्णाङ्कको गणित पढेको हुनेमा पाठ्यक्रमको यो व्यवस्थाले उक्त समूहका विद्यार्थीहरु भविष्यमा यो कार्यक्रमको लागि अयोग्य हुनेछन् ।
त्यसैले पाठ्यक्रमको यो व्यवस्था हटाउनु पर्ने त्रिभुवन विश्वविद्यालय कम्प्युटर विज्ञान केन्द्रीय विभागका प्रमुख नवराज पौडेलले बताउनु भयाे ।