-अस्मिता दाहाल (अस्मि)
मुलुकमा कानूनी व्यवस्था कायम गरी सर्वसाधारण जनताको नैतिकता, शिष्टाचार, सदाचार एवं आर्थिक हितलाई मध्यनजर राख्दैसामाजिक र साँस्कृतिक तथा आर्थिक क्षेत्रमा न्यायपूर्ण व्यवस्था स्थापित गरी विभिन्न जात, जाति वा सम्प्रदायहरू बीचको सुसम्बन्ध कायम राख्नको लागि मुलुकी ऐन तथा अन्य कानूनमा रहेका देवानी सम्बन्धी व्यवस्थालाई संशोधन र एकीकरण गर्दै समयानुकूल बनाउन वाञ्छनीय ठानी नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिम व्यवस्थापिका संसदले देवानी संहिता ऐन २०७४ निर्माण गरी संवत २०७५ साल भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याउनेछ ।
अंशियार को को हुने, कसरी गर्ने भागबण्डा ?
देवानी संहिता ऐनको दफा २०५ बामेजिम अंशियार भन्नाले सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनको लागि पति, पत्नी, बाबु, आमा, छोरा तथा छोरीलाई लिईएको र उक्त अंशमा सबै अंशियारहरुको हक समान कायम गरिएको छ । अंश बण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र निजले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाई समेत समान अंशियार मानी निजको अंश भाग छुट्याएर मात्र अंश बण्डा गर्नुपर्नेछ । साथै उक्त गर्भवती महिलाबाट जिउँदो शिशु नजन्मिएमा त्यस्तो शिशुको लागि छुट्याइएको अंश अन्य अंशियारले बराबरी भागबण्डा गरी लिन पाउनेछन् । सो ऐनको दफा २०७ अनुसार वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतिबाट जन्मेका छोरा, छोरीले अंश पाउने छन् साथै कानून बमोजिम विवाह हुन नसक्ने, विवाह भएको नमानिने वा वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतिबाट जन्मिएका छोरा छोरीले त्यस्ता बाबु आमाबाट अंश पाउनेछन् । बाबुको पहिचान नभएका छोरा छोरीले आमाको सम्पत्तिबाट मात्र अंश पाउने र अरुलाई थाहा नदिई बाहिर राखेका पत्नीले वा निजबाट जन्मेका छोरा छोरीले पति वा बाबु मरे पछि अंशमा दाबी गर्न पाउने छैन । त्यसैगरी सगोलमा बसेका दाजुभाइका छोरा छोरी वा पत्नीले आफ्नो बाबु वा पतिको भागबाट मात्र अंश पाउने व्यवस्था गरिएको छ । कुनै व्यक्तिको एकभन्दा बढी पत्नीहरू भएमा निजहरूले पतिको भागबाट मात्र अंश पाउने र अंश नहुँदै पति वा बाबुआमा मरेमा निजले पाउने अंश निजका पत्नी वा छोरा, छोरीले पाउनेछन् । यसै ऐनको दफा २१० अनुसार पछिल्लो पत्नी वा सन्तानले पति वा बाबुको भागबाट मात्र अंश पाउने व्यवस्था गरिएको छ । तर पत्नी जीवित हुने कुनै व्यक्तिले अंश नहुँदै अर्को विवाह गरेमा अन्य अंशियारको अंश भाग छुट्याई आपूmले पाउने अंश भागबाट त्यसरी विवाह गर्ने महिलालाई अंश दिनु पर्नेछ ।
देवानी संहिता दफा २११ ले सगोलको सम्पत्ति भएका पति, पत्नी, बाबु, आमा, छोरा, छोरीले पत्नी, पति, छोरा, छोरी, बाबुर आमालाई आफ्ने इज्जत आमद अनुसार खान लाउन दिन र आर्थिक हैसियत अनुसार शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्नेछ यदि यस्तो व्यवस्था पूरा गर्नु पर्ने दायित्व भएका व्यक्तिले त्यस्तो दायित्व पूरा नगरेमा आफ्नो अंश लिई भिन्न हुन सक्नेछ भनेकाले यो ऐनको परिधिमा रहि उप्रान्त हरेक अंशियारले आफ्नो अंश लिनबाट बंचित गराईने छैन ।
अंशियारहरू बीच आपसी सहमति भएमा निजहरू जहिले सुकै पनि अंश लिई भिन्न हुन सक्ने साथै पति, बाबु, आमा वा घरको मुख्य भई काम गर्ने व्यक्तिलाई सबै अंशियारहरू एउटै परिवारमा बस्नुभन्दा अंश बण्डा गरी अलग अलग बस्न उपयुक्त लागेमा जहिले सुकै पनि अंश बण्डा गरी छुट्टिई भिन्न हुन सक्नेछन् । तर यस ऐनको प्रयोजनको लागि “घरको मुख्य भई काम गर्ने व्यक्ति” भन्नाले घरको मुख्य भई काम गर्ने वा सगोलमा बसी विभिन्न ठाउँमा खेती, व्यापार, व्यवसाय वा अन्य कुनैकाम गरी घर व्यवहार चलाउने जिम्मेवारी भएको कानून बमोजिम उमेर पूरा गरेको व्यक्ति सम्झनुपर्छ ।
कुनै अंशियारले आफ्नो अंश आंशिक रूपमा लिई वा नलिई वा अंश वापत केही नगदी वा जिन्सी मात्र लिईअंश छोडपत्र गर्नसक्ने व्यवस्था ऐनको दफा २१५ ले गरेको छ । अंश छोड पत्र गर्दा कुनै अंशियारको पति, पत्नी वा उमेर पुगेका छोरा, छोरी भएमा त्यस्ता पति, पत्नी वा छोरा, छोरीको मञ्जुरी लिएमा मात्र अंश छोडपत्र गर्न सक्नेछ । तर नावालक अंशियारको अंश हक छोडपत्र गर्न सकिनेछैन ।
अंश छोडपत्र गर्दा वा अंश बुझि लिनु पर्दा अंशियार आफैँ उपस्थित हुनु पर्ने र निजको उपस्थित हुन नसकेमा त्यस प्रयोजनका लागि निजले कानून बमोजिम अधिकृत वारेस नियुक्ति गर्नुपर्नेछ । साथै सगोलको सम्पत्ति अंश बण्डा गर्दा अंशियारहरू बीच लिखित रूपमा बण्डापत्र गर्नुपर्नेछ । अंश बण्डा गर्दा असल कमसल मिलाई अंशियारहरूको मञ्जुरी बमोजिम र त्यसरी मञ्जुरी हुन नसकेमा गोला हाली बण्डा गर्नुपर्नेछ ।
अंश बण्डा गर्दा कुनै सम्पत्तिमा विवाद परेमा त्यस्तो विवाद समाप्त भएपछि अंश बण्डा गर्नु पर्ने तर त्यस्तो विवाद समाधान हुन धेरै समय लाग्ने भएमा विवाद परेको सम्पत्ति बाँकी राखी अन्य सम्पत्ति बण्डा गर्न सकिनेछ ।
के कुरा खुलाउने त अंश बण्डाको लिखतमा ?
अंश बण्डाको लिखतमा अंशियारहरूको नाम, थर, उमेर, ठेगाना तथा आमा, बाबु र बाजे, बजैको नाम, अंशियारहरूले पाउने सम्पत्ति, अंशियारको नाममा कुनै ऋण धन परेको भए त्यस्तो ऋण धनको रकम, बण्डा गर्दा कुनै अंशियार अन्य अंशियारसँग बस्ने भए सो कुरा, बण्डा गर्नु पर्ने सम्पत्ति कुनै अंशियारले नलुकाए वा नछिपाएको कुरा, बाबुआमा वा पति पत्नीको शेष पछि कुनै सम्पत्ति कुनै अंशियारले मात्र पाउने भए त्यसको विवरण, कुनै अंशियारको अंश कसैको जिम्मामा रहने भए सो जस्ता आवस्यक कुराहरु खुलाई अंश बण्डाको लिखत पारित गर्नुपर्ने हुन्छ । अंश बण्डा गर्दा अंश बण्डाको लिखत तयार गरी साक्षी राखी त्यस्तो लिखतमा साक्षी तथा अंशियारको सहीछाप गरी कानूनको रीत पु¥याई सम्बन्धित कार्यालयबाट पारित गराउनु पर्छ । घरको मुख्य भई काम गर्ने व्यक्तिले सगोलको सम्पत्ति अंश बण्डा नगरी अंश नलिएका र अंशियार हुने कुनै अंशियारलाई मात्र दिन पाउने छैन ।
तर संवत् २०३४ साल पौष २७ गते भन्दा अघि कुनै अंशियार बीच बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अंश बण्डा गरी छुट्टिई आफ्नो अंश भाग बमोजिम लिई पाईदाखिल खारेज समेत गरिसकेको वा बण्डा बमोजिम आफ्नो भागको अचल सम्पत्ति छुट्टाछुट्टै भोग वा बिक्री व्यवहार गरेकोमा अंश बण्डाकोलिखत पारित नभएको भए पनि अंश बण्डा भएको मानिनेछ । यसको अलावा सबै अंशियारको मञ्जुरी लिई कुनै सम्पत्ति कुनै अंशियारलाई दिन सक्नेछ साथै आफ्नो अंश भागमा पर्ने हदसम्मको सम्पत्ति अन्य अंशियारको मञ्जुरी नभए पनि कुनै अंशियारलाई दिन सकिने छ ।
कसरी लिने कानूनी रुपमा अंश ?
कुनै अंशियारले आफ्नो अंश भाग छुट्याई भिन्न हुन चाहेमा देवानी संहिताको धारा २२० अनुसार सम्पत्तिको फाँटबारी खुलाई नालिस गर्नुपर्ने हुन्छ । यसरी नालिस गर्दा थाहा पाएसम्म अन्य अंशियारको नाममा रहे भएको अंश बण्डा हुने सम्पत्ति र ऋण धनको फाँटबारी, मानो छुट्टिएको लिखतमा उल्लेख भएको मिति, मानो छुट्टिएको लिखत नभए अंशियारहरू बीच मानो छुट्टिएको सम्बन्धमा सहमति कायम भएको मिति वा अंशियारहरू बीच सहमति कायम नभएमा फिराद गरेको अघिल्लो दिन वा सहमति भएकोमा बाहेक विवाहिता छोरीको हकमा निजको विवाह भएको दिनलाई खुलाउनु पर्छ । यसका साथै नालिस गर्ने व्यक्तिले सम्पत्तिको फाँटबारी पेश गर्न नसक्ने भएमा त्यसको कारण समेत खुलाई नालिस गर्नु पर्नेहुन्छ ।
यसरी नालिस परेमा सम्बन्धित व्यक्तिले पनि नालिस गर्ने व्यक्तिलाई अंश दिनु पर्ने वा नपर्ने कुरा खुलाईर अंश दिन मञ्जुरी भएमा आफ्नो नाममा रहे भएको सम्पत्ति र ऋणधनको फाँटवारी अदालतमा प्रतिउत्तरपत्र दर्ता गर्दाका बखत पेश गर्नु पर्नेछ । साथै सोहि ऐनको धारा २२१ अनुसार प्रतिवादीले फाँटबारीमा जग्गा रहेको ठाउँ, कित्ता नम्बर, क्षेत्रफल र अनुमानित मूल्य, घर भए त्यस्तो घर रहेको ठाउँ, कित्ता नम्बर, क्षेत्र फल, घरको कवल, नाल, तला, कच्ची पक्की र त्यसको अनुमानित मूल्य, चल सम्पत्ति भए त्यसको विवरण र अनुमानित मूल्य, नगद भए त्यसको विवरण, बैङ्क मौज्दात, शेयर, डिबेन्चर, टे«जरी बिल भए त्यस सम्बन्धी विवरण, पशुधन भए त्यसको विवरण र अनुमानित मूल्य, सुन , चाँदी, जवाहरत भए त्यसको विवरण र अनुमानित मूल्य, सवारी साधन भए त्यसको विवरण र अनुमानित मूल्य समेत उल्लेख गर्नु पर्नेछ ।
तर नालिस वा प्रतिउत्तर साथ सम्पत्तिकोफाँट वारी पेश नभएमा अदालतले म्याद तोकी अंशियारहरूसँग सम्पत्तिको फाँटवारी माग गर्नु पर्नेछ । त्यसरी तोकिएको म्याद भित्र अंशियारले सम्पत्तिको फाँटवारी पेश गरेमा अंशियारहरूको कागज गराई अंश बण्डा गरि दिनु पर्नेछ । तोकिएकोे म्याद भित्र सम्पत्तिको फाँटवारी दिनु पर्ने व्यक्तिले फाँटवारी नदिएमा वा निजले प्रतिउत्तर पेश नगरी म्याद गुजारी बसेमा अदालतले अन्य अंशियारले दिएको सम्पत्तिको फाँटवारीको आधारमा अंश बण्डा गरि दिनु पर्नेछ । यसका अलावा अंशियारले दिएको सम्पत्तिको फाँटवारीमा नखुलेको सम्पत्ति पछि मात्र पत्ता लगाई बण्डा गर्न नालिस गरेमा अदालतले त्यस्तो सम्पत्तिको अंशबण्डा गरिदिनु पर्नेछ । सम्पत्तिको फाँटवारी दिनु पर्ने व्यक्तिले फाँटबारी नदिएको कारण निज जिम्माको घरको ताला खुलाई फाँटवारी लिनु पर्ने भएमा अदालतले घरको साँचो लिने अंशियार भए निजलाई समेत र नभए अंश पाउँ भन्ने व्यक्ति र स्थानीय तहको सम्बन्धित वडाको प्रतिनिधि सहित कम्तीमा दुईज ना रोहबरमा राखी घरको ताला खोली भएसम्मको सम्पत्तिको विवरण खडा गरी सम्पत्तिको फाँटवारी लिन सक्नेछ ।
यसै ऐनको दफा २२६ अनुसार कसैले पनि अंशबण्डा गर्नु पर्ने सम्पत्ति लुकाउन छिपाउन पाउने छैन । अंशबण्डा हुँदा वा अदालतले सम्पत्तिको फाँटबारी मागेका बखत कुनै अंशियारले आफ्नो नाममा रहेको बण्डा हुने सम्पत्ति लुकाए वा छिपाएको कुरा पछि ठहरेमा त्यसरी लुकाउने वा छिपाउनेले त्यस्तो सम्पत्ति लिन पाउने छैन । देवानी संहिताको दफा २२९ अनुसार धितो बन्धकमा राखेको सम्पत्तिको अंशबण्डा गर्ने, दफा २२८ ले अंशियारहरू बिच आपसी सहमति भएकोमा बाहेक अंश सट्टा पट्टा गर्न नपाउने र दफा २३० ले अंशबण्डा नभएसम्म अंश मुद्दामा नालिस गर्नेले अंश पाउने देखिएमा सम्पत्तिको फाँटबारी पेश भैसके पछि आफ्नो अंश भागमा पर्ने हदसम्मको सम्पत्ति वा त्यस्तो सम्पत्तिको आयस्ता रोक्का गरी पाउँ भनी अदालतमा निवेदन दिएमा अदालतले निजले पाउने अंश भाग जतिको सम्पत्ति वा त्यस्तो सम्पत्तिको आयस्ता कानूनको रीत पु¥याई अंशबण्डा नभएसम्मको लागि रोक्का राख्न सक्नेछ ।
यसरी नयाँ देवानी संहिता अनुसार अब सबै अंशियारले समान रुपमा अंश पाउने छन् तर अंशियार हुन नसक्नेले व्यक्तिले अंश पाउँ भनी नालिस हालेमा कानूनले अंश दिन ठहर योग्य नदेखिएको अवस्थामा निजलाई दण्डीत गराई क्षतिपूर्ति तिराईने व्यवस्था गरिएकोछ ।
लेखकः चावहिल वहुमुखी क्याम्पस एम.ए दोस्रो बर्षमा अध्यनरत छिन् ।