काठमाडौं, जेष्ठ १५ ।
राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी तथा प्रशिक्षक अन्जन केसी सहित ६ जनालाई प्रहरीले इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको अनलाइन बेटिङ सट्टेबाजी गरेको आरोपमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा फुटबलमा म्याच फिक्सिङको आरोप लागेका केसी सहित काठमाडौका गौरव तिवारी, नुवाकोटका दिनेश बोगटी, भक्तपुरका नगेन्द्र सुवाल, विजय श्रेष्ठ र काभ्रेका भुपेन्द कुवँर रहेका छन् ।
राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले उनीहरुले विश्वका महत्वपूर्ण र लोकप्रिय खेल क्रिकेट तथा फुटबल म्याचमा जितहार, गोल र रनका आधारमा अनलाईन मार्फत जुवा खेलाउने गरेको बताउनुभयो ।
पक्राउ परेका अर्का तिवारी सीटी सेन्टर र सिभिल मलमा रहेको १२ डी सेनामा घरका सञ्चालक हुन् । अन्जन भने यसअघि पनि फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परी विशेष अदालतबाट धरौटीमा रिहा भएका हुन् ।
उनीहरुको साथबाट नगद दुई लाख, सट्टेबाजमा प्रयोग हुने डिभाइस, ८ थान मोबाइल, एक थान ल्यापटप बरामद गरेको प्रहरीले जनाएको छ ।
सट्टेबाजका मुख्य नाइके भनिएका दावा लामाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाको बयानका आधारमा लामा पनि सट्टेबाजमा संलग्न रहेको खुलेको परिसरका एसएसपी पोखरेलले बताउनुभयो ।
प्रहरीका अनुसार सो समूहले दुई वर्षको अवधिमा ७ करोड बराबरको अनलाइन जुवा खेलाएको प्रहरीको भनाई छ ।